राष्ट्रिय मानव अधिकार महाभेला भोलीबाट

साताव्यापी कार्यक्रम हुँदै

प्रकाशित मिति: 2018-12-07
महाभेलाको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन
महाभेलाको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन

काठमाडौं । 

 

अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भ पारेर भोलीबाट राष्ट्रिय मानव अधिकार महाभेला शुरु हुँदैछ ।

 

यस वर्षको अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर साताव्यापी मनाईने १० औ राष्ट्रिय मानवअधिकार महाभेला शुरु हुन लागेको हो । 

 

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले ललितपुरको जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा एक समारोहकाबिच भोली भेलाको उद्घाटन गर्नु हुने छ । 

 

कार्यक्रम अन्तर्गत मंसिर २४ गते डिसेम्बर १० तारिखका दिन बिहान ८ बजे काठमाण्डौको भृकुटीमण्डपमा बृहत शान्ति ¥यालीको आयोजना गरिनेछ । 

 

यसैगरी, मंसिर २५ र २६ गते दुईदिन काठमाण्डौको हार्दीक होटलमा विभिन्न विषयमा बृहत छलफल हुनेछ । मंसिर २७ गते थापाथलीस्थित साप नेपालको सहकार्यमा साफ फाल्चा नेपालको हलमा  विभिन्न समूहगत छलफलको कार्यक्रमसमेत तय भएको छ ।

 

मंसिर २८ गते राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यतामा काठमाण्डौ घोषणापत्र जारी गर्दै महाभेला सकिनेछ । 

 

घोषणापत्र आयोग मार्फत् नेपाल सरकारलाई बुझाईनेछ । 

 

त्यस्तै, सातवटै प्रदेशमा राष्ट्रिय मानव अधिकार महाभेला आयोजक समितिका विभिन्न कार्यक्रमहरु हुनेछन् ।

 

जसमा प्रदेश नम्बर १ मा बिराटनगर, प्रदेश नम्बर २ मा जनकपुर, प्रदेश नम्बर ३ मा हेटौडा, गण्डकी प्रदेशमा पोखरा, प्रदेश नम्बर ५ मा बाँके, कर्णाली प्रदेशमा सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुने महाभेलाका मिडिया संयोजक सुनिल आचार्यले जानकारी दिनुभयो । 

 

विश्वभर विभिन्न कार्यक्रम गरेर डिसेम्बर १० तारिखकका दिन ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईदै छ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

 

सन् १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएपछि विश्वभरी डिसेम्बर १० तारिखका दिन यो दिवस मनाउन शुरु गरिएको हो । 

 

नेपाल प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्रको संस्थागत विकासका लागि मानव अधिकारको पूर्ण संरक्षण र सम्बद्धनमा प्रतिबद्ध रहेको राष्ट्र हो । नेपालले अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भ पारेर नेपालमा बिक्रम सम्वत् २०६६ सालदेखि राष्ट्रिय मानवअधिकार महाभेलाको आयोजना गर्दै आईरहेको छ । 

 

यस वर्ष सबैका लागि घर–घरमा मानव अधिकार, शान्ति र विकासको आधार भन्ने मूल नाराका साथ दिवस मनाइदैछ । 

 

नेपालले पनि ७० औ अन्तराष्ट्रिय मानव अधिकार दिवस तथा १० औ राष्ट्रिय मानवअधिकार महाभेलाको मुख्य नाराका रुपमा दिगो विकास र मानवअधिकार, नेपालीको मूल सरोकार भन्ने नारालाई अघि सारेको छ ।

 

महाभेलाको संयोजन युथ एड्भोकेसी नेपालले गरिरहेको छ ।

 

राष्ट्रिय मानव अधिकार आयोगसँगको सहकार्यमा हुन लागेको महाभेलाको आयोजकका रुपमा देशैभरका १ सय १५ भन्दा बढि मानअधिकारसँग जोडिएका संघ संस्था रहेका छन् । महाभेला २८ गतेसम्म चल्नेछ । 

तपाईंको बिचार