काठमाडौं ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । हिंसा कुनै निश्चित पेशा, समूदाय र वर्गमा मात्रै हुन्छ भन्ने छैन ।
महिलाहरुले घरदेखि कार्यालयसम्म, सडक देखि सदनसम्मै हिंसा भोग्नु परेको अनुभव सुनाएका छन् ।
परिवर्तनका लागि राजनीतिक आन्दोलनमा लागेका महिलाहरुले भोग्नु परेको हिंसा पनि कम पीडादायि छैन ।
२८ वर्ष अघिको कुरा । अमृतादेवी अग्रहरीको राजनीतिक यात्रा भर्खर शुरु भएको थियो । महिलाले राजनीति गरेको भनेर मानिसहरु हाँसे । धेरैले कुरा पनि काटे । उ बेला तराई मधेसको समुदायमा महिलाले राजनीति गर्नु, समाजको मान्यतालाई तोडेको मानिन्थ्यो ।
आजपनि राजनीति र सामाजिक सेवामा लागेका महिलालाई समाजले हेर्ने नजर फराकिलो बनिसकको छैन । यो मामिलामा मधेसी समुदाय झनै कठोर छ । अमृताले भन्नुभयो, ‘मलाई हाँसोको पात्र बनाए । हाँसेनन् मात्रै, नराम्रा शब्दहरु पनि भने ।’
उहाँले अगाडी भन्नुभयो, ‘तर मैले कसैको कुरा सुनिनँ, कुरा काट्नेहरुलाई वेवास्ता गरें । तर दुःखचाहिँ कहाँनेर लाग्छ भने अहिलेपनि केही गर्छु भन्ने महिलाहरुलाई जुन हौसल्ला र प्रोत्साहन हुनुपर्ने हो त्यो छैन ।’
राजपाबाट सांसद बन्नुभएका अमृताले २०४७ सालमा राजनीति शुरु गर्दा, नेकपाका सांसद रामकुमारी झाक्री कक्षा ७ मा पढ्नुहुन्थ्यो । अमृता र झाक्रीका बीच उमेर र अनुभवको अन्तर दशकभन्दा धेरै छ । तर महिला भएकै कारण राजनीतिमा भोग्नु परेको हिंसामा खास भिन्नता छैन ।
झाक्रीलाई लाग्छ, शारीरिक बनावटलाई लिएर पुरुष नेताले पटक पटक गरेको भद्दा टिप्पणी आफूमाथिको हिंसा नै हो ।
४ वर्षअगाडी एउटा कार्यक्रममा पार्टीकै एकजना नेताले शारीरिक बनोटको विषयलाई लिएर टिप्पणी गरे, ओहो ! तिमी कति मोटाएको ?
झाक्रीले त्यो टिप्पणीलाई वेवास्ता गर्नुभयो । तिनै नेताले फेरि सोल्टी होटलमा भएको अर्को एउटा कार्यक्रममा भेट हुँदा पनि शारीरिक बनोटको विषयलाई टिप्पणी गरे । त्यतिबेला पनि उहाँले त्यो कुरा नसुनेझैं गर्नुभयो ।
भर्खरैको कुरा, पार्टी एकीकरण प्रक्रियाको क्रममा केन्द्रीय कमिटिका सदस्यहरुले हस्ताक्षर गर्ने एउटा बैठक थियो, बालुवाटारमा । फेरिपनि शारीरिक बनोटकै विषयमा टिप्पणी सुन्नुप¥यो । यसपटक झाक्रीलाई असह्य भयो ।
उहाँले भन्नुभयो, ‘उनको मुखबाट मैले यस्तो टिप्पणी सुन्नुपरेको पाँचौपटक थियो । मैले तिनलाई बेस्सरी झपारें, तपाईले के भन्न खोज्नुभएको मैले बुझेको छु, अब पनि फेरि यस्तै कुरा भयो भने राम्रो हुनेछैन भनेपछि त्यसयता ति नेताले केही भनेका छैनन् ।’
हक्की स्वभावका झाक्रीले आफूमाथि भएको हिंसाको प्रतिकार गर्नुभयो । तर त्यस्ता थुप्रै महिला नेता छन्, जसले आफूमाथि भएको हिंसाको प्रतिकार गर्दैनन् ।
रिपोर्टिङका क्रममा केहि नेताले हिंसा भोग्नै नपरेको बताए । पूर्वमन्त्री तथा गण्डकी प्रदेशका सांसद आशा कोइराला, आफूले हिंसा नभोगे पनि राजनीतिमा लागेका थुप्रै महिला हिंसामा परेको बताउनुहुन्छ ।
कोइरालाले भन्नुभयो, ‘कुनैपनि महिलाले आफूलेचाहिँ हिंसा भोगेको छैन तर यो समस्या छ भनिन्छ, मनोवैज्ञानीक रुपमा पनि यो विषयले घर गरिरहेको छ । राजनीतिमा लागेका सबै मान्छे शुद्ध छैनन्, राजनीतिमा लागेका मान्छेहरु फेरि असाध्यै राम्रा, उदाहरणीय पनि छन्, पुरुष नेताहरु ।’
कोइरालाले थप्नुभयो, ‘जसले नेतृत्वलाई खुशी बनाउन सक्यो उहीचाहिँ नेतृत्वमा पुगेको छ भन्ने खालको एउटा आम बुझाइ छ, त्योचाहिँ असाध्यै गलत, महिला नेतृत्वप्रतिको एकदम ठूलो अपमान हो । त्यो गलत दृष्टिकोणलाई अन्त्य गर्न जरुरी छ ।’
भन्न खोज्नुभएको, संघर्ष गरेर अगाडी पुगेकाहरुलाई कोही पुरुष नेतासँग नाम जोडिदिने र उसको चरित्रको कुरा उठाउने विषय ?
‘हो, पुरुषहरुसँग जोडिदिने । के रहेछ, पुरुषको कारण नै पो यो अगाडी बढेको हो कि, पुरुष नेताहरुको कारण । उसँग नजिक भएर, उसलाई कुनै बेनिफिट दिएर भन्ने । अझै धेरै त शारीरिक सम्बन्ध छ क्या हो यिनीहरुको भनेर जोड्ने जुन परम्परा छ नि, आम नेपाली राजनीतिमा त्यो अन्त्य नभएसम्म राजनीतिमा लागेका महिलामाथिको हिंसा अन्त्य हुन सक्दैन ।’
राजनीति गर्ने महिलाहरुले शारीरिक भन्दा पनि मानसिक हिंसा बढि भोगेको सुनाए । पार्टीको महत्वपूर्ण जिम्मेवारी दिने, सांसद/मन्त्री बनाउने तथा चुनावमा उठाउने विषयमा विषयमा महिला भनेपछि शिर्ष नेताहरुले नाक खुम्च्याउने गर्छन् ।
बर्दियाका सांसद विमला बिके भन्नुहुन्छ, ‘अझैपनि महिलालाई विश्वास गर्ने परिपाटी बसिसकेको छैन । ’
बिकेले अगाडी भन्नुभयो, ‘म जुन गाउँ कमीटिमा पार्टी राजनीति गर्थें, त्यहाँ मभन्दा पछि जिल्ला कमीटिमा सदस्य भएकालाई त्यो गाउँ कमीटिको इन्चार्ज बनाइयो तर मलाई इन्चार्ज बनाइएन । मेरोजस्तो अनुभव धेरै महिलाको छ ।’
कांग्रेस सांसद डिला संग्रौला राजनीतिमा लाग्ने महिलालाई हिंसा हुने क्रम घरैबाट सुरु हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘मैले भोग्नुपरेन फरक कुरा हो तर धेरैलाई हिंसा हुनेक्रम घरैबाट सुरु हुन्छ । ’
पार्टीका विभिन्न कार्यक्रममा पुरुषसँग हिड्दा धेरै महिलालाई विभिन्न लाञ्छना लाग्ने गरेको, चरित्रमाथि प्रश्न उठाउने गरेको तथा हेर्ने दृष्टिकोण नै फरक हुने उहाँ बताउनुहुन्छ ।
अरुका लागि बोल्न राजनीति गरेकाहरु, राजनीतिभित्र हुने हिंसाबारे बोल्न सक्दैनन् । यसबारे आवाज उठाए इज्जत र प्रतिष्ठाको चिन्तासँगै, अनुशासनको कारबाही हुने डर पनि नेताहरुमा छ ।
आवाज सुन्ने र सम्बोधन गर्ने ठाउँमा महिला कम भएर पनि राजनीतिमा महिला हिंसा घटिरहेको छैन ।
तपाईंको बिचार