कामदारमैत्री कार्यक्षेत्र बनाउने सरकार, व्यवसायी र मजदुर संगठनको प्रतिवद्धता

प्रकाशित मिति: 2018-11-18

काठमाडौँ । सरकार र सरोकारवाला निकायले काम गर्ने स्थल कामदारमैत्री बनाउने साझा प्रतिवद्धता जनाएका छन् । कार्यक्षेत्र स्वस्थ र सुरक्षित बनाउन विषेश कार्ययोजना ल्याएर अघि बढ्ने उनीहरुले साझा प्रतिवद्धता जनाएका हुन् ।

 

श्रम तथा रोजगार समाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवम श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले श्रमिकले उचित वातावरण पाएमात्र उत्पादन बढ्ने भएकाले यसतर्फ सरकार सचेतक रहेको बताउनुभयो ।

 

उहाँले रोजगारदाता, उद्योगी, व्यवसायी सबै कार्यक्षेत्र स्वस्थ र सुरक्षित बनाउन प्रतिवद्ध हुनुपर्ने बताउनुभयो ।  सामुदायिक रेडियो प्रशारक संघ, अकोरावले आज काठमाण्डौँमा गरेको ‘कार्यक्षेमा कामको सुधारतात्मक अवस्था’ बिषयक नीतिगत छलफलमा महाशाखा प्रमुख घिमिरेले श्रमिक पनि पूजी भएकाले खुसी श्रमिकले मात्रै उत्पादन बढाउन सक्छन् भन्नेमा उद्योगी व्यवसायीले ध्यान दिनुपर्ने बताउनुभयो । 

 

कार्यक्षेत्रमा कामको वाताबरण, स्वास्थ्य सुरक्षाको अवस्था बुझ्न सरकारले अनुगमन सुरु गरेको पनि उहाँले जानकारी दिनुभयो ।

 

चालु आर्थिक बर्षको असोज मसान्तसम्म सरकारले २ सय ३३ वटा प्रतिष्ठानमा गरेको अनुगमनका क्रममा मुलुक भरका १० वटा प्रतिष्ठानमा औद्योगिक दुर्घटना भएको पाइएको पनि उहाँले जानकारी गराउनुभएको छ । 

 

नेपाल उद्योग बाणिज्य महासंघका सदस्य एवम महासंघको रोजगारदाता परिषदका उपाध्यक्ष भरतराज आचार्यले श्रम ऐन र सामाजिक सुरक्षा ऐन सबै निकायको सहमतिमा आएकाले यसलाई सबै उद्योगले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

 

कार्यक्षेत्रमा कामदार मैत्री वाताबरण बन्दै गएको र उद्योगहरुले श्रमिकलाई पूँजीका रुपमा हेर्न थालेको आचार्यले बताउनुभयो । कार्यक्षेत्रलाई स्वस्थ र सुरक्षित बनाउन आफूहरु प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।

 

नेपाल ट्रेड यूनियन महासंघ, जिफन्टका उपाध्यक्ष एवम श्रम सम्बन्ध परिषद्का संयोजक दीपक पौडेलले श्रम ऐन र सामाजिक सुरक्षा ऐन आइसकेपछि कार्यक्षेत्रमा अहिले सुधार हुदै गएको बताउनुभयो ।

 

उहाँले यसलाई पुर्ण कार्यान्वयमा ल्याउनका लागि सरकार, व्यवसायी र ट्रेड युनियन मिलेर अघि बढ्नुपर्ने बताउदै फरक–फरक धारका ट्रेड युनियन पनि यस विषयमा एउटै धारमा आएर काम गरिरहेको जानकारी दिनुभयो । 

 

अखिल नेपाल ट्रेड युनियन, महासंघका उप–महासचिव प्रकाश श्रेष्ठले औद्योगिक हिसाबले केही सुधार भए पनि कानुनमा उल्लेख भए अनुसार कार्यान्वयमा आउन नसकेको टिप्पणी गर्नुभयो ।

 

एउटा कामदारले उद्योगमा कस्तो वाताबरण पाउँछ त्यसले नै उत्पादन कस्तो हुन्छ भन्नेमा निर्भर हुने श्रेष्ठको भनाइ छ ।

 

'उन्नति' समावेसी परियोजनाको सहयोगमा गरिएको नीतिगत छलफलमा सहभागी मजदुर, किसान, पत्रकाहरुले कार्यक्षेत्रमा कामको वातावरण राम्रो बनाउन भन्दा उत्पादन र नाफामा बढी ध्यान गएको गुनासो गरेका थिए ।  

तपाईंको बिचार