दसैँको बेला विदेश जानु पर्दाको पीडा झन धेरै (अडियोसहित)

देश छोड्ने युवाहरु आखाँभरि आँसु, राख्दै आफन्तसँग बिदा हुदै

प्रकाशित मिति: 2018-10-17
सृजना बराल

काठमाडौँ । चाडवाडसँगै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वदेश आउनेहरुको घुईचो देखिन्छ । देशभरि दसैँको रमझम भैरहँदा सबै खुसी छोडेर विदेश जानेहरुको संख्या पनि कम छैन ।

 

स्वदेश फर्कनेहरु हाँस्दै फर्किरहेका छन् भने देश छोड्ने युवा भने आखाँभरि आँसु राखेर आफन्तसँग विदा हुदैछन्।

 

ताप्लेजुङका दीलकुमारी कार्की, आखाँको आँसु सलले पुच्छ्दै कुबेत जानलागेको छोरालाई बिदाई गर्दै हुनुहुन्थ्यो , विदाई भैसकेका छोरापनि रुदै गेटबाहिर फर्कन खोज्दै थिए आमा फेरि छोरालाई छिट्टै जान आग्रह गर्दैहुनुहुन्थ्यो । 

 

विमानस्थलको गेट नम्बर १ बाट भित्र छिरेका उनी रोएको बाहिरसम्म सुनिन्थ्यो । आमा दिलकुमारीको हालत पनि त्यस्तै थियो  । 

 

दिलकुमारी मात्रै होइन धेरै आमाहरु विदाईपछि रोईरहेका थिए । दुबई उड्नको लागि तयारी अवस्थामा रहनु भएका ज्यान बहादुर विकको आखा पनि भरिएका थिए । ज्यानबहादुरलाई चाडवाडको समयमा आफ्ना आफन्तसँग रमाउने रहर हुदा हुदै पनि केही कमाउन जानु पर्ने बाध्यता छ । 

 

सेतो अक्षता निधारमा अनि गलामा खादा लगाएर आउनु भएका अर्का युवा आशिष लामामा पनि नियाउरो मुहारमा भेटिनु भयो । दशैको बेलामा घरमा विरामी आमालाई छोडेर कतार जानु आशिषको रहर हैन । विदेश जाने भिडमा पुरुषहरु धेरै भएपनि महिलाहरु पनि उत्तिकै मात्रामा देखिन्छन् ।  

 

सिन्धुपाल्चोकका २२ वर्षका पुजा लामा दोस्रो पटक काम गर्नको लागि माल्दिभ्स जान लाग्नुभएको छ । पिडालाई लुकाएर मुस्कुराउनु भएका पुजालाई विदेशमा राम्रो आम्दानी  गरेर भविश्य उज्वल बनाउने सपना छ ।

 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक १६ सयको हाराहारीमा युवाहरु बिदेश पलायन भैरहेका हुन्छन् अरु समयमा भन्दा चाडपर्वको समयमा स्वदेश छोड्दा थप पिडा देखिन्छ । 

 

अडियो सुन्नुहोस्

तपाईंको बिचार