हुम्लाबासीलाई दसैँ खल्लो हुने चिन्ता (अडियोसहित)

ठेकेदारको लापरवाहीका कारण हरेक वर्ष चामल र नुनको अभाव

प्रकाशित मिति: 2018-10-16
राजन रुचाल

काठमाडौँ । हुम्लाको श्रीनगर खाद्य डिपोमा चामल सकिएपछि दशैंको समयमा स्थानीयबासीमा चिन्ता थपिएको छ । डिपोमा चार महिनादेखि नुनसमेत छैन । खाद्यले समयमा नपु¥याएपछि महङ्गो मूल्यमा नुन र चामल किनेर दैनिकी चलाउनुपरेको छ ।

 

सीआईएनमा हुम्ला र जाजरकोटमा चामल अभाव भएको समाचार प्रसारण भएपछि कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले तत्काल चामल पठाउन पहल थाल्नुभयो ।

 

यहीबीच हुम्लाको अदानचुली र ताँजाकोट क्षेत्रका स्थानीयले सीआईएनसँग सम्पर्क गर्दै भने ‘खाद्य संस्थानमा नुन, चामल केही छैन, गएको असारसम्म केही थियो, साउनबाट हाहाकार भयो, हामीले महङ्गोमा किन्नुपर्ने बाध्यता भएको छ ।’

 

स्थानीय गोरखबहादुर थापा र अविन्द बुमीले दशैं मान्ने अवस्था नभएको बताउनुको कारण श्रीनगर खाद्य डिपोमा गत असारदेखि चामल सकिएर हो । त्यसकारण अदानचुली र ताँजाकोट क्षेत्रका स्थानीयबासीले महंगो मूल्य तिरेर बजारको चामल र नुन खानुपरेको छ ।  

 

यो गुनासो हामीले श्रीनगर खाद्य डिपो प्रमुख नविन आचार्यलाई सुनाउने प्रयास गर्यौँ ।  तर उहाँको फोन सम्पर्क हुन सकेन । अदानचुली र ताँजाकोट गाउँपालिका प्रमूखलाई सम्पर्क गर्दा, दुवैजना दशैं मान्न काठमान्डु आइसकेका रहेछन् ।

 

अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले बीचमा बाटो सबै भत्केकाले खच्चर नचलेका कारणले ढिलो भएको बताउनुभयो ।  ‘म अब ढुवानी सुरु गर्छु भन्ने जानकारी ठेकेदारले दिएको छ, नेपाल खाद्य संस्थान र आपूर्ति मन्त्रालयले पनि ताकेता गरेको भए चाँडै ढुवानी हुने थियो ।’ फडेराले भन्नुभयो । ताँजाकोटका अध्यक्ष बागदल मल्लको भनाई पनि फडेराको भन्दा खासै फरक छैन । 

 

नुन र चामल ढुवानीको जिम्मा पाएका ठेकेदार सुरेन्द्र कार्कीसँग सम्पर्क स्थापित भएन । अनि खाद्यसंस्थान अन्तर्गत, विक्रि वितरण विभागका प्रमूख लालमोहन ठाकुरलाई सम्पर्क गर्दा उहाँको जवाफ यस्तो थियो, ‘ढुवानीको टेन्डर पनि ढिलो निकालियो । ठेक्का सम्झौता लागेको छैन, आशयपत्र निस्केको छ । दसैँपछि चामल र नुनको ढुवानी सुरु हुनेछ ।’

 

अरु ठाउँमा ढुवानी भए पनि श्रीनगर डिपोमा हरेक वर्ष समस्या हुने गरेको छ । सरकारले हुम्लाको श्रीनगर डिपोमार्फत्, अदानचुली, ताँजाकोट र सर्केगाडको जैर क्षेत्रका नागरिकका लागि चामल पठाउने गरेको छ ।

 

त्यो क्षेत्रमा झण्डै २० हजार जनसङ्ख्याका लागि वार्षिक १० हजार क्वीन्टल चामल आवश्यक पर्छ । तर यसवर्ष १५ सय क्वीन्टल चामल पु¥याउने गरि ठेक्का लागे पनि झण्डै ८ सय क्वीन्टल मात्र चामल हालसम्म पुग्दा स्थानीयबासीको दसैँ बजारमा किनेको नुन र चामलका कारण चर्को र महङ्गो बन्ने भएको छ । 

 

अडियो सुन्नुहोस्

तपाईंको बिचार