पशुपन्छीलाई कस्तो व्यवहार गर्ने ? (अडियोसहित)

कुटपिट गरे, बढि भारी बोकाए, रोगी पशुलाई काममा लगाए कैद र जरिवाना

प्रकाशित मिति: 2018-09-30
सृजना बराल, काठमाडौँ ।
गुगलबाट
गुगलबाट

तपाईले पालिरहेको पशुपन्छीलाई कस्तो व्यवहार गर्नुहुन्छ ? कुट्ने, समयमा खान नदिने वा वास्ता नै नगर्ने पो गरिरहनु भएको छ की ? पशुपन्छीको अधिकारको हनन् भएमा अब भने कानुनी दण्डका भागिदार हुनुपर्ने भएको छ । 

 

मान्छेलाई गरिने व्यवहार तल्लो स्तरको हुँदा प्रायः पशुसँग तुलना गर्ने परम्परा छ । नयाँ कानुन अनुसार उखान, टुक्कामा पशुलाई सदृश्य रूपमा वर्णन गर्नु पनि दण्डनीय हुने व्याख्या हुन थालेको छ । 

 

पशुपन्छीलाई उपयुक्त वातावरण नमिलाउँदा हुने घाटाका बारेमा बताउँदै, पशु सेवा विभागका बरिष्ठ पशुविकास अधिकृत डाक्टर रेशमराज ज्ञवालीले भन्नुभयो, ‘हामीले पशुलाई तनावमा राख्यौं, उसलाई खान दिएनौं, राम्रो तरिकाले बस्ने व्यवस्था मिलाएनौं भने उसले आफ्नो क्षमता अनुसारको दुध उत्पादन गर्न सक्दैन, बढ्न सक्दैन ।’ 

 

समयमा दानापानी खान पाउने, राम्रो ठाउँमा बस्ने र चोटपटक लाग्नबाट बच्न पाउने, डरत्रासबाट टाढा रहन पाउनेलगायत पशुका आधारभूत आवश्यकता हुन् ।

 

पशुलाई पनि मानिसलाई जस्तै व्यवहार गर्नुपर्ने बताउनुहुन्छ, पशु अधिकारकर्मी प्रमदा शाह । उहाँले भन्नुभयो, ‘कुनैपनि पशुलाई पीडा नदिनुहोस्, बरु पाल्दै नपाल्नुस्, पाल्नुहुन्छ भने राम्रोसँग पाल्नुहोस् ।’

 

मुलुकी अपराध संहिताको परिच्छेद २७ को दफा २९० मा पशुपन्छिका अधिकार हनन् गरे/भएमा कैद र जरिवानाको व्यवस्था छ ।

 

कुटपिट गर्ने, आवश्यक भन्दा बढि भारी बोकाउने, रोग लागेका र काम गर्न नसक्ने पशुलाई काममा लगाउने जस्ता अपराधिक गतिविधि कसैले पनि गर्न पाउँदैन । गरेमा तीन महिना सम्म कैद र पाँच हजार रुपैयाँसम्मको जरिवाना तोकिएको छ । 

 

गाउँदेखि शहरसम्मै कुनै पनि उत्पादन नदिने अवस्थाका पशुचौपाया सडक, वनजङ्गल लगायतका सार्वजनिक स्थानमा छोडिएको पाइन्छ । पशुचौपायको स्याहार नगर्ने जो कोहीका विरुद्ध प्रहरी प्रशासनमा उजुरी प¥यो भने कानुनी कारबाहीका लागि अड्डाअदालत धाउनुपर्नेछ ।

 

नयाँ ऐन कार्यान्वयन भइरहेको छ तर पशु कल्याण ऐन नबन्दा पशुपन्छिको अधिकार संरक्षणमा चुनौति भरहेको विज्ञहरुको भनाइ छ ।

अडियो सुन्नुहोस्

तपाईंको बिचार