बलात्कारका घटना : एउटा कारण रक्सी पनि

८० प्रतिशत हिंसाका घटना मदिरा र लागुऔषधका कारण

प्रकाशित मिति: 2018-09-26
गीता चिमोरिया, काठमाडौं ।
गुगलबाट
गुगलबाट

पोखरामा सोमबार एक बालिका मृत भेटिइन् । प्रहरीको अनुसन्धानपछि खुल्यो, छिमेकी २७ वर्षिय कुसुम पौडेलले उनको हत्या गरेका रहेछन् ।

 

पौडेलले बलात्कार गर्न खोज्दा बालिकाले प्रतिकार गरेपछि उनको हत्या भयो । साथीहरुसँग बसेर मदिरा पिएका पौडेलले बालिकालाई एक्लै देखेपछि बलात्कारको प्रयास गरेका थिए । प्रहरीका अनुसार बालिकाको हत्यापछि उनी पुनः भट्टीमा फर्किएका थिए ।

गण्डकी प्रदेशका प्रहरी प्रवक्ता डिएसपी गोविन्द पुरीका अनुसार पछिल्लो समय बढ्दै गएको महिलामाथीको यौनजन्य हिंसा र बलात्कारका धेरैजसो घटनामा मदिरा जोडिएको छ ।

 

मदिरा सेवनपछि मानिसले आफ्नो होस गुमाउँछ । यस्तो बेलामा उसले बलात्कार, हत्या जस्ता क्रुर गतिविधि गर्ने धेरै सम्भावना हुन्छ ।

 

मनोविश्लेषक गोपाल ढकालका अनुसार जाँडरक्सीको कुलत पनि एक किसिमको मानसिक रोग हो । बलात्कारका धेरै कारण मध्ये मदिरा तत्काल उत्प्रेरित गर्ने कारण हो । मनोचिकित्सक देशराज कुँवरका अनुसार रक्सी सेवनले बलात्कारका साथै अन्य हिंसा र अपराधका घटना गराउने सम्भावना बढी हुन्छ । 

 

नेपाल प्रहरीले बलात्कारका घटना मध्ये कति प्रतिशत घटना रक्सी सेवनका कारण भएको हो भनेर स्पष्ट तथ्यांक त राखेको छैन तर धेरै घटनामा रक्सी कारण बनेर आएको छ ।

 

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्री त्यहि समस्यका कारण नेपाल प्रहरी मदिरा न्युनीकरण र लागु औषध निषेधको अभियानमा लागेको बताउनुहुन्छ  ।

 

क्षेत्रीले भन्नुभयो, ‘अवैध घरेलु मदिरा बेचविखनलाई पूर्णतया निस्तेज गरिरहेका छौं । बरामद भएका मदिरा नष्ट गछौं । मदिराकै कारण सृजना हुने विभिन्न अपराधका विषयमा अनुसन्धान र कारवाही भइरहेको छ । ’

 

आपराधिक घटना बढ्न थालेपछि सरकारले कार्ययोजना नै बनाएर मदिराजन्य पदार्थको नियन्त्रणमा कडाई गर्न लागेको छ ।

 

बलात्कार, घरेलु हिंसा, महिला हिंसाजस्ता अपराधमध्ये ८० प्रतिशतभन्दा बढी लागूऔषध र मदिराका कारण हुने गरेको तथ्यांक देखिएपछि सरकारले यसको प्रयोग र विक्रिवितरणमा कडाई गर्न लागेको हो । कतिपय स्थानीय तहहरुले पनि मदिरा विक्रिवितरण तथा प्रयोगमा रोक लगाउन थालेका छन् । 

 

बलात्कारका घटना बढ्नुको कारण थुप्रै होलान् तर मदिरा सेवन पनि एउटा कारण रहेको मनोविद्हरुको भनाइ छ । मदिरा सेवनपछि बढेका आपराधिक घटनाले प्रहरीलाई पनि मदिरा न्युनिकरणमा सक्रिय बनाएको छ । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार