आज संविधान दिवस मनाइदैं !

प्रकाशित मिति: 2018-09-18
गुगलबाट
गुगलबाट

नेपालको संविधान जारी भएको तीन वर्ष पूरा भएको छ । चौथो वर्षमा प्रवेश गरेको अवसरमा आज संविधान दिवस मनाइँदैछ ।

 

पहिलो पटक सरकारले राष्ट्रिय दिवसका रुपमा मनाउन लागेको हो । दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले अहिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिरहेको छ ।

 

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

 

समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन लगाएतका कार्यक्रम छन् ।

 

विदेशस्थित नेपाली दुतावास, नियोग तथा वाणिज्य दुतावासमा संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गरिने मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यका बाहिर पनि प्रदेश र स्थानीय सरकारले संविधान दिवस मनाउँदैछन् । आज सरकारले सार्वजनिक विदा दिएको छ । 

 

राष्ट्रपति विद्यादेवी भण्डारीले मूलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताउनुभएको छ ।

 

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ ।

 

सन्देशमा राष्ट्रपति भण्डारीले सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात् गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिक क्रियाशील हुनु अपिल गर्नु भएको छ । 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै संविधानले नेपाली जनताको आकांक्षा र आशा मात्रै नभइ मान्यता र सिद्धान्तलाई समेत समेटेको उल्लेख गर्नुभएको छ ।

 

प्रधानमन्त्रीले संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको भन्दै संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको उल्लेख गर्नुभएको छ ।

 

प्रधानमन्त्री ओलीले सन्देशमा नेपालको संविधान, नेपाली कानूनको स्रोत, दस्तावेज मात्रै नभएर सारा नेपालीको सामूहिक चाहना समेटिएको साझा दस्तावेज भएको बताउनुभएको छ । 

तपाईंको बिचार