प्रदेश २ मा किन जान मान्दैनन् डाक्टर ?

नयाँ नीति ल्याउँदै सरकार (अडियोसहित)

प्रकाशित मिति: 2018-09-17
स्नेहा कर्ण, काठमाडौँ ।
गुगलबाट
गुगलबाट

पाँच वर्ष अघिको सरकारी तथ्याङ्क अनुसार मूलुकभर झन्डै ५ हजारको हाराहारीमा स्वास्थ्य संस्था छन् । जसमा ९३ हजार ४ सय ९५ जनशक्तिले काम गरिरहेका छन् ।

 

ती मध्ये चिकित्सकको संख्या २ हजार १ सय ५४ मात्रै छ । जनसङ्ख्या अनुसार चिकित्सकको सङ्ख्या र दरबन्दी पनि कम छ । अझ दुई नम्बर प्रदेशमा चिकित्सकहरु जानै नचाहाने स्थिति छ । 

 

स्वस्थ रहन पाउनु हरेक नागरिकको मौलिक हक हो । तर नागरिकको मौलिक हक कार्यान्वयन हुने गरि प्रर्याप्त स्वास्थ्य संस्थाको व्यवस्था भइसकेको छैन । त्यहि कारण दुर्गमका कतिपय ठाउँमा चिकित्सकहरु जान मान्दैनन् । 

 

दुर्गम मात्रै होईन, भौगोलिक रुपमा सुगम मानिएको प्रदेश नम्बर दुईमा पनि चिकित्सहरु जान नमान्ने गरेको पाइएको छ । प्रदेश नम्बर २ मा किन जान मान्दैनन् चिकित्सक ?

 

यसको कारणबारे डा. अजय कुमार झाले भन्नुभयो, ‘अस्पतालका जुन संरचना छन्, त्यो कमजोर छ, अस्पतालमा नेतृत्व राम्रो हुनुप¥यो । जतिपनि डाक्टर त्यहाँ जान्छन्, त्यहाँ सेवा नै दिन सकिंदैन भन्छन् ।’ 

तथ्याङ्क अनुसार प्रदेश नम्बर २ को जनसङ्ख्या झण्डै ४६ लाख छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ५ वर्ष अघिको सर्वेक्षणले ३ सय ७९ वटा स्वास्थ्य संस्था प्रदेश दुईमा रहेको देखाउँछ ।

 

स्वास्थ्य संरचना विकास गर्ने र चिकित्सकको दरबन्दी थप्ने बारे मन्त्रालयले योजना बनाइरहेको छ ।

 

कर्मचारी प्रशासन प्रमुख जनार्दन गुरागाईले भन्नुभयो, समस्या समाधानको लागि नीतिगत परिवर्तन आवश्यक छ, त्यसका लागि एकदुई चरण छलफल भइसकेको छ । भौगोलिक क्षेत्रको आधारमा दुर्गम अध्ययनको लागि जुन नम्बर दिइएको थियो, त्यसमा पुनरावलोकन गरेर २ नम्बर क्षेत्रका साथीहरुलाई पनि प्रोत्साहन गर्ने किसिमको नीति ल्याउँछौं । ’

 

प्रदेश २ मा मात्रै होइन देशै भरका स्वास्थ्य संस्थामा दरबन्दी अनुसारको चिकित्सक छैनन् । जिल्ला अस्पताल होस् वा अञ्चल अस्पताल विशेषज्ञ चिकित्सक नहुँदा सर्वसाधारणलाई समस्या हुने गरेको छ ।

 

यो समस्या समाधान लागि सरकारको योजना कस्तो हुनुपर्छ ? पूर्व स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उप्रेतीले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रालय र प्रदेशको सरकारले समन्वयमा यो समस्याको समाधान गर्नुपर्छ ।  सामाजिक, आर्थिक, राजनीतिक जे जे पाटोहरु छ, यो पाटोहरुलाई सरकारले संवोधन गर्नुपर्छ ।’

 

पछिल्लो तथ्याङ्कले एक जना चिकित्सकको भागमा १४ हजार भन्दा धेरै बिरामी पर्ने देखाउँछ । प्रदेश नम्बर दुईमा जम्मा १ सय ९ जना डाक्टरको दरबन्दी रहेकोमा ५७ जना मात्रै कार्यरत छन् । एक जना चिकित्सकले झन्डै ८० हजार बिरामी जाँच्नु पर्ने अवस्था छ ।

अडियो सुन्नुहोस्

तपाईंको बिचार