महिनावारी भएका महिलालाई छाउगोठ पठाए सजाय हुने (अडियोसहित)

जुनसुकै प्रहरी कार्यालयमा उजुरी दिन सकिने

प्रकाशित मिति: 2018-08-23
गीता चिमोरिया, काठमाडौं ।
तस्बिर : गुगल
तस्बिर : गुगल

मुलुकी ऐनलाई विस्थापित गरी ल्याइएको नयाँ कानुनले छाउपडीलाई अपराध मानेको छ ।

 

अब कसैलाई महिनावारी भएका बेला छाउगोठमा बस्न बाध्य पारिए, त्यो अपराध हुनेछ । र त्यसै अनुसार सजाय पनि हुनेछ । 

 

पशु चौपायका लागि बनाईएका गोठ जस्ता देखिने घरहरु सुदुर पश्चिमका पहाडी जिल्लामा प्रशस्तै देखिन्छन् । ति छाउघर हुन् । छाउपडी अर्थात् महिलाहरु महिवारी भएका बेला बस्न बनाईएका घर । 

 

धेरै छाउ गोठ त भत्किईसके, अब अरु छाउगोठ पनि भत्किने छन् । भदौ १ गतेबाट लागुभएको अपराध संहितामा यसअघि नैतिक अपराध मानिएको छाउपडी प्रथालाई अब कानुनी रुपमै अपराध मानिएको छ । 

 

कानुनमा कोही कसैले महिलालाई महिनावारी भएकै कारण छाउगोठ पठाए वा अन्य विभेद गरे ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवानाको व्यवस्था गरिएको सांसद कृष्णभक्त पोखरेलले बताउनुभयो । 

 

महिनावारी भएका वा सुत्केरी भएका महिलालाई छाउगोठमा पठाउने, धारा वा पानी छुन नदिने, भान्सामा पस्न नदिने वा खानेकुराहरु छुन नदिने लगाएतका विभेद गरेमा यो सजाय भोग्नुपर्नेछ ।

 

पीडितले जुनसुकै प्रहरी कार्यालयमा गएर उजुरी दिनसक्नेछन् । प्रहरीले उजुरी लिन आनाकानी गरेमा वा उजुरी नलिएमा जिल्ला प्रशासन कार्यालय वा त्यो भन्दा माथिल्लो निकायमा पनि उजुरी दिन सक्ने व्यवस्था छ । 

 

अपराध संहिताको दफा १६८ को उपदफा ३ मा महिलालाई महिनावारीका समयमा विभेद गर्न नहुने लेखिएको छ ।

 

नयाँ कानुन प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सके छाउपडि कुप्रथा अन्त्य हुने बताउनुहुन्छ, अधिवक्ता सरोज गिरी । 

 

विशेषत : छाउपडि कुप्रथा सुदुरपश्चिममा रहेको भनिएपनि महिनावारीका बेला गरिने विभेद देशैभरी छ । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार