प्रधानमन्त्रीले प्रदेश नम्बर २ को प्रदेश सभालाई संवोधन गर्दै

प्रकाशित मिति: 2018-08-18
जानकी एफएम, जनकपुरधाम

नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आज धनुषा आउने कार्यक्रम छ ।

 

तत्कालीन नेकपा माओवादीको दशवर्षे जनयुद्धका सहिद रामवृक्ष यादवको २४ औं स्मृतिसभालाई सम्बोधन गर्न नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड धनुषा आउन लाग्नुभएको हो ।

 

प्रधानमन्त्री ओलीले स्मृतिसभालाई सम्बोधन गर्नुअघि आज बिहान ११ बजे प्रदेश नं. २ को प्रदेश सभामा सम्बोधन गर्ने कार्यक्रम छ । बिहान साढे १० बजे जनकपुर विमानस्थलमा आएर प्रधानमन्त्री ओली सिधा प्रदेशसभामा जानुहुनेछ । प्रदेशसभामा उहाँलाई भव्य स्वागत गर्ने तयारी भएको छ । 

 

प्रधानमन्त्री ओलीले प्रदेशसभालाई सम्बोधन गर्नुहुने हुँदा अनिवार्य उपस्थितिका लागि प्रदेश २ का सबै सांसदलाई सन्देश पठाइएको सभामुख सरोज यादवले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीलाई भव्य स्वागत गर्न जनकपुर विमानस्थलदेखि प्रदेशसभासम्म ५ वटा स्वागत गेट निर्माण गरिएको छ ।

 

प्रदेशसभामा सम्बोधन हुने भएपछि प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ लगायत संघीय सांसद एवं अतिथिहरु प्रदेशसभामा आउने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

 

प्रदेशसभामा सम्बोधन पश्चात ओली र प्रचण्डलगायत संघीय मन्त्रीहरु धनुषाको बरमझियामा आयोजना हुने सहिद रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुने कार्यक्रम छ ।

 

ओली र प्रचण्डले यादवको स्मृतिसभालाई संयुक्त रुपमा सम्बोधन गर्ने बताईएको छ ।

 

तपाईंको बिचार