पाँचसय घरधुरीलाई ग्यास सिलिण्डरसहित चुल्हो वितरण

प्रकाशित मिति: 2018-08-18
दशरथ घिमिरे, रेडियो नयाँ युग, लमही दाङ

दाङको राजपुर गाउँपालिका वडा नं. ५ ले गाउँका ५ सय घरधुरीमा ग्यास सिलिण्डर सहित चुल्हो वितरण गरेको छ ।

 

सामुदायिक र राष्ट्रिय वनमा दाउराको लागि उपभोक्ताले जथाभावी रुख काट्ने गरेको भन्दै त्यसको रोकथामको लागि ग्यास सिलिण्डर सहित चुल्हो वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

 

राजपुर गाउँपालिका वडा नं. ५ ले  ५ सय घरधुरी स्थानीयलाई २६ लाख ३२ हजार खर्चिएर ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको हो ।

यसबाट खाना पकाउनको लागि वन जान लाग्ने समयको बचत भएको र त्यो समयमा छोरा छोरीलाई विद्यालय पठाउन सजिलो हुने स्थानीय सविता कुमारी यादवले बताउनुभयो ।

 

नजिकमा दाउरा पाईदैन् । एक भारी दाउराको लागि जंगल टाढा भएकाले दिनभरी लाग्ने गरेको छ । त्यसैले वडाबासीको मागको आधारमा ग्यास सिलिण्डर सहित चुल्हो वितरण गरिएको वडा अध्यक्ष नरेन्द्रसिंह भण्डारीको भनाइ छ ।

 

वडा कार्यालयले उपभोक्तासंग लिखित सम्झौता गरेर ग्यास चुल्हो वितरण गरेको छ ।उपभोक्ताले ग्यास चुल्हो कतै बिक्रि गरेको प्रमाणित भएमा वडा कार्यालयको सेवा सुविधाबाट बञ्चित गराउने सम्झौता गरिएको छ । 

 

गाउँपालिकाका अध्यक्ष लोकराज केसीले देशमै नमुनाको रुपमा वडा कार्यालयबाट ग्यास चुल्हो वितरण गरिएको र यसको सदुपयोगमा ध्यान दिनुपर्ने बताउनुभयो ।

 

यो अभियान धुँवामुक्त समाज बनाउने र बन जंगल संरक्षण गर्ने अभियान पनि भएको बताईएको छ । 

तपाईंको बिचार