बाल विवाहविरुद्धको अभियानमा ११ हजार नागरिकको प्रतिबद्धता

प्रकाशित मिति: 2018-08-10

‘नेपाली जुटौँ, बालविवाह रोकौँ’ भन्ने नारासहित सुरु भएको बाल विवाह विरुद्धको सय दिने सञ्चार अभियान आज सम्पन्न भएको छ ।  गत वैैशाख २३ गतेदेखि सुरु भएको अभियानमा मुलुकभरका ३ सय भन्दा बढि सामुदायिक रेडियो सहभागी भएका थिए ।

 

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब), सीआईएन र वल्र्डभिजन इन्टरनेशनल नेपालबीचको सहकार्यमा अभियान सुरु गरिएको थियो । काठमाडौँमा आज भएको एक कार्यक्रमका बीच अभियान समापन भएको घोषणा गरिएको हो । 

 

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अध्यक्ष सुवास खतिवडाले बालविवाह विरुद्धको ५ वर्षे अभियान सामाजिक रुपान्तरणको अभियान भएको बताउनुभयो । उहाँले बालविवाहमुक्त नेपाल बनाउनु नै सामुदायिक रेडियोको मुख्य उद्देश्य भएको बताउनुभयो । वल्र्डभिजन इन्टरनेशनलका निर्देशक पुस्कर खातीले बालविवाह विरुद्धको अभियान सञ्चाल गरेर आफूहरूले सरकारसँग हातेमालो गरेर योगदान पु¥याएको बताउनुभयो । 

 

अभियानको क्रममा बालविवाह विरुद्ध राष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसददेखी शिक्षक, विद्यार्थी र सर्वसाधारण गरी ११ हजारभन्दा बढी व्यक्तिको प्रतिबद्धता संकलन गरि प्रसारण गरिएको थियो । प्रतिबद्धता जनाउने सबैले आफ्नो क्षेत्रबाट बालविवाह रोक्ने, कानुन निर्माण गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका थिए ।  सबै सामुदायिक रेडियोकर्मीको साथ र सीआईएनको संयोजनमा ११ हजार व्यक्तिको प्रतिवद्धता संकलन प्रसारण गरिएको थियो । 

 

यसैवीच एक वर्षअघि सुरु भएको बालविवाह अन्त्यका लागि ‘नेपाली जुटौं, बाल विवाह रोकौँ’ भन्ने नारासहितको ५ वर्षे राष्ट्रिय अभियानको पनि आज एक वर्ष पूरा भएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) र वल्र्डभिजन इन्टरनेशनलको सहकार्यमा पाँच वर्षे अभियान अझै ४ वर्षसम्म चल्नेछ । 

 

 

तपाईंको बिचार