प्रदेश नं ७ का नागरिकको रोजगारीको मुख्य गन्तव्य भारत

डेढ लाख नागरिक भारतमा रोजगारी गर्दै

प्रकाशित मिति: 2018-07-30
ममता भट्ट, रेडियो अमरगढी डडेलधुरा

रोजगारीका लागि युरोप र तेस्रो मुलुक आकर्षक गन्तव्य मानिए पनि प्रदेश नं ७ का नागरिकको रोजगारीको मुख्य गन्तव्य भारत रहेको पाइएको छ । प्रदेश नम्बर ७ का झण्डै डेढ लाख नागरिक भारतबाट कमाएको रकमले जीविकोपार्जन गरिरहेका छन् । 

 

पछिल्लो पटक केही युवाहरुले आफ्नै गाँउमा उद्यम गर्ने जाँगर देखाएपनि सात नम्बर प्रदेशका अधिकांसको रोजगारी गन्तव्य भारत छ । २०६८ सालको जनगणना अनुसार भारतमा रहेका प्रदेश ७ का दुई लाख ६६ हजार भन्दा धेरै नागरिक मध्ये करीब ७०.१४ प्रतिशत अझैँ भारत गइरहेका छन् । 

 

तथ्याङ्क कार्यालय कञ्चनपुर र कैलालीका निर्देशक यदुनाथ आचार्यका अनुसार भारत जानेमा सबैभन्दा धेरै कैलालीबाट ५६ हजार छन् भने दार्चुलाबाट पाँच हजार नागरिक छन् । डडेलधुराबाट १०, अछामबाट २०, बझाङबाट २१, डोटीबाट २२, बैतडीबाट १९ र  बाजुराबाट सात हजार महिला तथा पुरुष रोजगारी गर्न भारत गएका छन ।  

 

एक लाख ४४ हजार पुरुष रोजगारीका लागि गएका छन भने संस्थागत रोजगारीका लागि आठ हजारभन्दा बढी गएको तथ्याङ्क छ । प्रदेश न ७ का मुख्य मन्त्री त्रिलोचन भट्ट युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउनका लागि  आफुले तत्कालिन तथा दीर्घकालिन योजना बनाईरहेको बताउनुहुन्छ ।

 

भारतमा जानेमध्ये अधिकांश सीप र क्षमता नभएका नै हुने गरेका छन् । युवालाई रोजगारीका लागि प्रोत्साहन गर्नुअघि उनीहरुलाई सीपमूलक तालिमको व्यवस्था गर्नेतर्फ सरकार र सरोकारवाला निकायको ध्यान जानुपर्छ । 

तपाईंको बिचार