सिद्धिचरण नगरपालिकाले छोरी मात्रै भएका परिवारलाई प्रोत्साहन गर्ने

प्रकाशित मिति: 2018-07-17
पूर्णप्रसाद न्यौपाने, भिजन एफएम, ओखलढुंगा

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले छोरी मात्र भएका परिवारलाई प्रोत्साहन गर्ने भएको छ । 

 

नगरपालिकाभित्र रहेका दुई वा दुई भन्दा बढी छोरीमात्र भएका परिवारलाई प्रोत्साहन तथा सम्मान गर्ने गरी नगरपलिकाले नीति तथा कार्यक्रममा ल्याएको हो । 

 

समाजमा अझैपनि छोराकै आवश्यकता महसुस गर्ने र छोरा नै चाहिन्छ भन्ने सोंचलाई चिर्न यस्तो कार्यक्रम समावेश गरिएको नगरपालिकाका उपमेयर ईच्छा कुमारी गुरुङले बताउनुभयो । 

 

समुदायमा छोरी भएकै कारण हिनताबोध गर्ने अवस्थालाई निरुत्साहित गर्न यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने उहाँको भनाइ छ । 

 

यो नीतिले छोरी जन्माएकै कारण हिंसामा पर्नुपर्ने महिलाको समस्या न्यूनिकरण हुने अपेक्षा राखिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बताउनुभयो । 

 

‘छोरा जन्माए सुत्केरीलाई राँगा काटेरै खुवाउने तर छोरी जन्माए गुन्द्रुक पनि समयमा नखुवाउने चलन छ, त्यसलाई अन्त्य गर्ने हाम्रो लक्ष्य हो ।’ श्रेष्ठले भन्नुभयो । 

 

एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगामा सिद्धिचरण नगरपालिकाले पहिलो पटक छोरीमात्र भएको परिवारलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो । 

 

नगरपालिकाको नीति तथा कार्यक्रम अन्तरगत सामाजिक सुरक्षा शिर्षक अन्तरगतको ९ नम्बर बुँदामा यो कार्यक्रमलाई समेटिएको छ । 

 

छोरी मात्र भएका परिवारलाई प्रोत्साहन तथा सम्मान कार्यक्रम स्वागत योग्य भएको स्थानीयले प्रतिक्रिया दिएका छन् । 

तपाईंको बिचार