लैङ्गिक हिंसाको तत्काल जानकारी लिन हेल्पलाइन सेवा

हिंसामा परे वा देखे तत्काल ११४५ मा फोन गर्न सकिने(अडियो)

प्रकाशित मिति: 2018-06-21
गीता चिमोरिया, काठमाडौं ।

राष्ट्रिय महिला आयोगले महिला तथा बालबालिकामाथि हुने हिंसाको तत्काल जानकारी र कार्वाहीका लागि सहज होस् भनेर हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

पहिला आयोगमै आएर उजुरी दिनुपर्ने हुन्थ्यो तर अहिले देशभरबाट जो कसैले ११४५ मा फोन गरेर आफ्ना समस्या राख्न सक्छन् । 

राष्ट्रिय महिला आयोगको कार्यालय काठमाण्डौमा रहेको हेल्पलाइन सेवामा चौबीसै घण्टा फोन बजिरहन्छ ।

हेल्पलाइन अपरेटरहरु फोन उठाउँछन्, समस्या सुन्छन्, आफैंले हेर्नुपर्ने खालको समस्या छ भने अझ विस्तृत बुझ्न थाल्छन्, अन्य निकायसँग जोडिएको समस्या रहेछ भने सम्बन्धित संस्था वा कार्यालयको नम्बर टिपाइदिन्छन् । 

महिला हिंसाको सत्य तथ्य जानकारी प्राप्त गर्न र उनीहरुलाई न्याय दिलाउन संयोजनकारी भूमिका निर्वाह गर्ने उद्देश्यले २०७४ मंसिर २४ गतेबाट सञ्चालनमा आएको हेल्पलाइन सेवामा मंगलबारसम्म ३३ हजार ३ सय ५५ वटा फोन आइसकेको छ ।

परियोजना व्यवस्थापक पलिता थापाका अनुसार सबैभन्दा धेरै घरेलु हिंसाका घटनाहरु आउने गरेको छ । 

हेल्प लाइनमा घटना भएपछि मात्रै फोन आउँदैन ।

कतिपय अवस्थामा आफूलाई भएको समस्या हिंसा हो कि होइन, हो भने मैले न्यायका लागि कहाँ सम्पर्क राख्नुपर्छ ? भनेर पनि महिलाहरुले सूचना लिन फोन गर्ने गरेका छन् । 

कसैले सल्लाह लिन मात्रै फोन गर्छन् । अहिलेसम्म आएका हिंसाका घटनामध्ये झन्डै ४ सय मुद्धा दर्ता भएका छन् ।

हेल्प लाइन सेवालाई अझै प्रभावकारी बनाउन अन्य निकायहरुसँग पनि समन्वयको प्रयास भइरहेको व्यवस्थापक थापाले बताउनुभयो । 

हिंसा गर्नेलाई तत्कालै पक्राउ गर्न प्रहरीसँग समन्वय गर्नेसँगै आयोगले मनोसामाजिक परामर्श पनि दिने गरेको छ । 

पीडितलाई कानुनी सहयोग, पीडित महिला र बालिकाको लागि अल्पकालिन आश्रयस्थल, १८ वर्ष मुनिका बालकहरुलाई उद्धार, बस्ने व्यवस्था र शिक्षाका लागि पनि विभिन्न संस्थाहरुसँग मिलेर काम गर्दै आएको आयोगले जनाएको छ । 

हिंसामा परेका वा हिंसा भइरहेको देखेका जो कोहीले पनि देशको जुनसुकै ठाउँबाट ११४५ मा फोन गरेर राष्ट्रिय महिला आयोगको हेल्पलाइनमा खबर गर्न सक्नेछन् ।

पीडितको गुनासो सुन्न १० जना हेल्पलाइन अपरेटर बिहान, दिउँसो र राती गरी पालैपालो सेवामा खटिने गरेका छन् ।

अडियो सुन्नुहोस्

तपाईंको बिचार