बाजुरामा सुत्केरी भैंसीका लागि सुरक्षाभत्ताको व्यवस्था

दुधालु भैंसी र गाई भित्र्याउने किसानलाई २० हजारका दरले ढुवानी खर्च दिइने

प्रकाशित मिति: 2018-06-11
रेडियो बाजुरा, बाजुरा

बाजुरा । सुत्केरी भैंसीको पोषण सुरक्षाका लागि बडिमालिका नगरपालिकाले सुत्केरीभत्ता कार्यक्रम ल्याएको छ । किसानलाई पशुपालन व्यवसायतर्फ आकर्षण गर्न र उचित दानापानीको व्यवस्थापन गरी दुध उत्पादनमा वृद्धि गर्न भैंसीका लागि सुरक्षाभत्ता कार्यक्रम ल्याएको हो ।

किसानहरुले पशु वस्तुलाई सुत्केरी अवस्थामा पोषण सुरक्षाको ख्याल नगर्ने र उचित दानापानीको कमिले दुध उत्पादन र पशुको स्वास्थ्यसमेत कमजोर हुने हुँदा प्रोत्साहनस्वरुप भत्ता सुविधा दिने नीति लिइएको हो । नगरपालिका पशु सेवा शाखाले यो वर्ष भैंसीको सुत्केरीभत्ताका लागि ५० हजार रुपैयाँ छुट्याएको छ ।

मानव स्वास्थ्यको समेत ख्याल नगर्ने समुदायलाई पशुजन्य वस्तुको सुरक्षामा पनि ध्यान दिन लगाउने गरी प्रोत्सानस्वरुप कार्यक्रम सञ्चालन गर्न लागिएको शाखा प्रमुख शङ्कर सिंहले बताउनुभयो । । सुविधा बडिमालिका नगरपालिका क्षेत्र भित्रका भैंसीपालक किसानलाई मात्र दिइनेछ । 

उचित पालनपोषण र दानापानी खुवाउँदा भैंसीको सुरक्षा र दुध उत्पादनमा वृद्धि हुने अपेक्षाका साथ सुरक्षाभत्ता कार्यक्रम ल्याएको सिंहको भनाइ छ । किसानले घाँसपात बाहेक अन्य पोषणयुक्त खानेकुरा नदिने गरेको हुँदा पशुवस्तुको आयु कम हुने, स्वास्थ्य विग्रिएर बेलाबेला बिरामी हुने र लगानी खेर जाने समस्या कम गर्न नयाँ अवधारणाले सघाउने जनाइएको छ । 

नगरपालिकाले भैंसीका पाडा संरक्षणका लागि पनि प्रोत्सानभत्ता छुट्याएको छ । जन्मिनेबित्तिकै पाडा फाल्ने चलन बढेसँगै भैंसीको सङ्ख्यामा कमि भएको र मासु तथा दुध उत्पादनमा पनि कमी भएको हुँदा पाडा संरक्षणका लागि यो वर्ष ५० हजार रुपैयाँ छुट्याइएको छ ।

रकम नगरपालिकामा वा टोलमा गठन भएको किसान समूह र वडा कार्यालयको सिफारिसका आधारमा दिने  व्यवस्था गरिएको छ । मार्तडीमा दैनिक डेढ सयदेखि ३ सय लिटर दुध खपत हुने गरेको छ । प्रोत्साहनभत्ता असार १५ गतेसम्म वितरण गरिसक्ने लक्ष्य नगरपालिकाको छ ।

पशु शाखाले यो वर्षकै कार्यक्रममा जिल्ला बाहिरबाट उन्नत जातका भंैसी र गाई ल्याउन किसानका लागि ढुवानी खर्च दिने निर्णय गरेको छ । उन्नत जातका दुधालु भैंसी र गाई भित्र्याउने लक्ष्यसहित किसानलाई अनुदानस्वरुप २० हजारका दरले ढुवानी खर्च दिने शाखा प्रमुख सिंहले बताउनुभयो ।

यो वर्ष १० वटा भैंसी र ५ वटा गाईका लागि ढुवानी खर्च छुट्याईएको छ । कृषि र पशुपालन व्यवसायलाई पहिलो प्राथमिकतामा राखेर किसानलाई व्यावसायिक बनाउन खोजिएको नगर प्रमुख पदम बडुवालले जानकारी दिनुभयो । 

तपाईंको बिचार