गोही प्रजनन केन्द्रका कारण स्थानीयको जीवनस्तर उकासिँदै

प्रकाशित मिति: 2018-06-03
प्रियास्मृति ढकाल, रेडियो सद्भाव नेपालगञ्ज
फोटो सौजन्य: रमेशकुमार थापा, प्रमुख संरक्षण अधिकृत, बर्दिया राष्ट्रिय निकुञ्ज
फोटो सौजन्य: रमेशकुमार थापा, प्रमुख संरक्षण अधिकृत, बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र रहेको गोही प्रजनन् केन्द्र आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ । सङ्कटापन्न अवस्थामा रहेको गोहीको संरक्षण गर्नका लागि निकुञ्जमा प्रजनन केन्द्र निर्माण गरिएपछि अहिले गोहीको सङ्ख्या समेत बढ्न थालेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया खण्डको आम्बासाबाट १३ किलोमिटर दक्षिणमा रहेको ठाकुरबाबा नगरपालिकामा पर्ने बर्दिया निकुञ्जमा पर्यटकहरुको आउजाउ चलिरहन्छ ।  निकुञ्ज भित्र विश्वकै लोपउन्मुख घडियाल गोहीको संरक्षणका लागि स्थापना गरिएको प्रजनन केन्द्रमा अधिकांश पर्यटकको आँखा जाने गरेको छ ।

गोही प्रजनन केन्द्रमा भेटिनुभएका जाजरकोटका राकेश शाहले प्रजनन केन्द्रका कारण दुर्लभ मानिएको घडियालको संरक्षणमा सहयोग पुग्ने बताउनुहुन्छ । बर्दिया निकुञ्जमा घडियाल र मगर गरी दुई प्रजातिका गोही छन् ।

घडियाल गोही विश्वकै दुर्लभ जीवजन्तुको सूचिमा छ । सुरुमा गोहीको बारे जनचेतना जगाउन भन्दै गोही पालन गरिएको थियो । अहिले बर्दियामा प्रजनन केन्द्रकै रुपमा विकास भएपछि संरक्षणकर्मी खुसी भएका बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत अशोक भण्डारीको भनाइ छ । 

बर्दियामा २०४० सालमा गोहीको जनचेतना जगाउन चितवनबाट चार र पटकपटक गरेर १२ वटा घडियाल ल्याइएको थियो । दश वर्षसम्म नदीबाट गोहीको अण्डा ल्याउँदै कोरल्ने प्रयास असफल भएको थियो । तर गएको वर्ष गोहीले आफै अण्डा पारेर बच्चा निकालेको हो ।

बर्दिया निकुञ्जमा दुर्लभ घडियाल संरक्षण निकुञ्जको एक्लो प्रयासले भने सम्भव नभएको पर्यटन व्यावसायी तथा पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहन चौधरीको कथन छ । स्थानीयबासी र सरोकारवाला निकायको तर्फबाट पनि सहयोग पुगेको अध्यक्ष चौधरीले बताउनुभयो ।

गोही प्रजनन केन्द्र विद्यार्थीहरुको लागि अध्ययनको केन्द्र पनि बन्दै गएको छ । त्यसक्षेत्रका स्थानीयबासीको आर्थिक आयआर्जनमा समेत केन्द्रका कारण टेवा पुग्न थालेको निकुञ्जका सहायक संरक्षण अधिकृत भण्डारीले धारणा राख्नुभयो ।

बर्दियाको बबई नदी गोहीको बासस्थनाका लागि उपयुक्त मानिन्छ । नदीहरुमा माछा मार्ने, गिटी, ढुङ्गाबालुवा निकाल्नेलगायत मानवीय अतिक्रमणलाई रोक्न सकियो भने बर्दियामा गोही प्रजनन्को राम्रो सम्भावना रहेको संरक्षणकर्मीहरु बताउँछन् ।

तपाईंको बिचार