दाङमा झाडापखालाका बिरामी बढ्दै, बिरामीको संख्या ४ सय ५० पुग्यो

प्रकाशित मिति: 2018-05-27
रेडियो हाईवे, लमही/दाङ

पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ३ र ४ मा हिजोदेखि फैलिएको झाडापखालाले ४ सय ५० भन्दा बढि बिरामी भएका छन् ।

अहिले बिहान मात्र २० जना झाडापखालाका बिरामी शान्तिनगर स्वास्थ्य चौकीमा उपचारका लागि आएका छन् ।

शनिबार रातिसम्म ४ सय ३४ जना बिरामी आएको र अहिले बिहान मात्र २० जना बिरामी आईसकेका स्वास्थ्य चौकीले जनाएको छ ।

केही बिरामी स्वास्थ्य चौकीमा नआई सिधै अस्पताल गएका र स्वास्थ्य चौकी आउने क्रम पनि जारी रहेकाले बिरामीको संख्या अझै बढ्न सक्ने शान्तिनगर गाउँपालिकाका प्रमुख कमानसिह डाँगीले बताउनुभयो ।

बिरामीलाई स्वास्थ्य चौकीसम्म ल्याउन र उपचारमा कमि हुन नदिन गाउँपालिकाले नेपाली सेना १९ नम्बर बाहीनी अड्डाको १ र अन्यत्रबाट २ गरि ३ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

बिरामीको अवस्था बुझ्न राप्ती अञ्चल अस्पतालको विज्ञ चिकित्सकको टोलि हिजो नै घटनास्थल पुगेको थियो । अहिले घोराहीबाट पनि थप चिकित्सकको टोलि झाडापखालाको प्रकोपस्थल हिडेको छ ।

हिजो बिरामी भएका मध्ये ४३ जनालाई तुल्सिपुर स्थित लाईफ केयर अस्पतालमा रिफर गरिएको र बाँकी उपचार पछि घर फर्किएका शान्तीनगर स्स्थास्थ्य चौकीका प्रमुख हरी पुनले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारका लागि अन्य स्वास्थ्यचौकीहरुको पनि सहयोग लिईएको छ । 

गर्मियामसँगै ईनारमा पानी सुक्दै गएपछि खोलाको पानी पाईपबाट ईनारमा भरेको र सोही पानीबाट गाउँमा झाडापखाला फैलिएको बताईएको छ ।

वडा नम्बर ३ को पातेटाकुरा, रसाल गाहाखोला, र वडा नम्बर ४ को माले चौतारा, कटबेरी टोल हिरापुर, गिधनिया गाउँका मानिसहरु झाडापखालाबाट बिरामी भएका छन् । 

 

तपाईंको बिचार