महिला समानताका लागि पुरुषको भूमीका महत्वपूर्ण

पुरुष सहभागीता बढ्दै (अडियो)

प्रकाशित मिति: 2018-05-17
सृजना बराल

काठमाडौं । 

सिन्धुपाल्चोकको ठूलोसिरुवारीका नमुना बराल खाना पकाउनुहुन्छ । श्रीमान नेत्र तरकारी काट्नुहुन्छ । एकजना भाँडा माझ्दा अर्को सरसफाईमा व्यस्त देखिनुहुन्छ । घर बाहिरको काम पनि त्यसरी नै भागबण्डा हुन्छ ।

श्रीमानको सहयोग नमूनाका लागि अधिकार प्राप्त भएको दिनको खुशीयाली झै लाग्छ । नेत्रचाहिँ महिला पुरुषबीचको सहकार्यका रुपमा लिनुहुन्छ । 

घरभित्र होस् या बाहिर महिला पुरुषबीचको सहकार्य बढ्न थालेको छ ।

बिहेपछि पनि बुहारीको पढाईको चिन्ता, जग्गा जमिनको स्वामित्वमा महिलाको अग्रता, बराबरी ज्याला, राजनीतिक सहभागितामा महत्वपूर्ण पदमा नै समान सहभागिता सुनिश्चित गर्नु महिलामैत्री व्यवहार र व्यवस्थाका उदाहरण हुन् ।

अधिकारकर्मी तथा पत्रकार कपिल काफ्ले महिलाको पक्षबाट पुरुष नै उभिने सँस्कृति नै विकास हुन थालेको दावी गर्नुहुन्छ । 

संविधान अनुसार कुनै पनि पुरुषले महिलालाई कुनै पनि प्रकारको भेदभाव गर्न पाउँदैनन् ।

अधिवक्ता सरोज गिरीका अनुसार संविधानमा व्यवस्था भएको मौलिक हकको हनन् भए अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ । 

व्यवस्था, नीति नियमले महिला र पुरुषलाई समान मानेको छ । छोरीलाई पनि छोरा जस्तै अंशको व्यवस्था गरेको छ । नीति अनुसार व्यवहारमा पनि परिवर्तन देखिदैछ ।

लैङगीक समानताका लागि एक व्यक्तिले कार्यतालिकामा ल्याउनुपर्ने सानातिना परिवर्तनले पारिवारिक, सामाजिक र राष्ट्रिय हिसाबमै ठूलो योगदान गर्ने उदाहरणहरुले पुष्टि गरेका छन् । 

महिलाले भोगिरहेको समस्याका लागि कहीं न कहीं पुरुषको भूमिका छ । लैङगिक समानताको प्रश्न महिलासँग जोडिन्छ । महिलालाई त्यसको जिम्मेवारी दिइन्छ ।

तर इतिहासको त्यस अध्यायलाई सच्याउन महिला समानताका लागि पुरुष सहभागिता बढ्न थालेको छ । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार