भारतिय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा

प्रकाशित मिति: 2018-05-11
जयन्त ठाकुर, जानकी एफ एम जनकपुर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारत बिचको सम्बन्ध देवनीतिबाट निर्माण भएको बताउनुभएको छ ।जनकपुरधाम स्थित रंगभूमि मैदान १२ बिघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारत बिचको सम्बन्ध राजनीति वा कुटनीतिबाट नबनेको बताउँदै यो सम्बन्ध देवनीतिबाट बनेको बताउनुभयो । 

भारत सरकारको सबका साथ सबका विकास झै नेपाल सरकारले समृद्ध नेपाल खुशी नेपालीको लक्ष्य लिएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । राम जानकीको सम्बन्धले आफूलाई जनकपुरधाम आउन प्रेरित गरेको बताउँदै उहाँले जनकपुरधाम आउना पाउँदा आफ्नो बर्षौँ पुरानो सपना साकार भएको धारणा राख्नुभयो । 

भारत तथा नेपालले मिलेर ५ टी माथि काम गरे विकास तर्फ लम्कन सक्ने उहाँको भनाई थियो । उहाँले ट्रेडिशन, ट्रेड, टुरिज्म, टेक्नोलोजी र ट्रान्सपोर्टमा नेपाल तथा भारत सरकारले मिलेर काम गर्नु पर्ने पनि बताउनुभयो । 

अभिनन्दनको क्रममा मोदीलाई जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले मैथिली भाषामा अभिनन्दन पत्र वाचन गरेर नागरिक अभिनन्दन गर्नुभएको छ । नागरिका अभिनन्दन पछि उहाँलाई जनकपुरधाम उपमहानगरपालिकाको कलात्मक साँचो हस्तान्तरण गरिएको छ ।

जनकपुर परिक्रमा सडकका लागि सय करोड सहयोगको घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परिक्रमा सडकको निर्माण गर्नका लागि सय करोड आर्थिक सहायताको घोषणा गर्नुभएको छ ।  नागरिक अभिनन्दन पछि सम्बोधन गर्दै उहाँले परिक्रमा सडक निर्माण गर्नका  लागि सय करोडको सहायताको घोषणा गर्दै यो रकम संघिय सरकारको समन्वयमा प्रदेश २ को सरकारलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो  । मिथिला मध्यमा परिक्रमाको प्रयोग हुने सडको निर्माणका लागि यो रकम प्रयोग गरिनेछ ।  

मोदीले जनकपुर जयनगर रेल सेवा  यो वर्षको अन्तसम्ममा संचालनमा आउने बताउँदै नेपाल भारत जस्तो ठूलो रेल संजालमा जुड्ने जानकारी दिनुभयो ।  भारतको रक्सौल हुँदै काठमाडौँ सम्म रेल संजाल विस्तार गर्ने लक्ष्य रहेको भन्दै उहाँले भारतको छिमेकी नितिमा नेपालको स्थान अग्र रहेको बताउनुभयो । 

मोदीको मन्तव्य शुरुवात तथा अन्त दूबै जय सियारामबाट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणको क्रममा जानकी मन्दिर तथा रंगभूमि मैदान १२ बिग्हामा आफ्नो मन्तव्यको शुरुवात तथा अन्त जय सियारामबाट गर्नुभयो ।

मन्दिरमा पूजा पछि सानो मन्तव्य तथा १२ बिग्हामा नागरिक अभिनन्दन पछि आफ्नो ४० मिनेटको सम्बोधनको क्रममा शुरुमा पनि जय सियाराम भन्दै जन समुदायलाई अभिवादन गरे भने सम्बोधनको अन्तमा पनि जय सियाराम भनेर नै अभिवादन गर्नुभयो  ।

जानकी मन्दिरमा पूजा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ ।  जानकी मन्दिरमा भारतीय प्रधानमन्त्री मोदीले षेडशोपचार विधिबाट पूजा गर्नुभएको हो । षेडशोपचार विधिबाट पूजा गरि सकेपछाडि भारतीय प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा ५५ वर्ष भन्दा पहिले देखिनै जारी रामनाम संकिर्तनमा केही बेर किर्तन समेत गर्नुभयो  ।

जनकपुर र अयोध्या बस सेवा सुरु

सीताको जन्मस्थल जनकपुर र रामको जन्मस्थल अयोध्यासम्म शुक्रबारबाट बस सेवा सुरु भएको छ । जनकपुरधामको जानकी मन्दिरबाट अयोध्या जाने बस सेवाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर संयुक्त रुपमा शुभारम्भ गर्नुभएको छ । 

तपाईंको बिचार