गाउँमा अधिकार पुगे पनि सिंहदरवारमा उस्तै भीड (अडियो )

प्रकाशित मिति: 2018-05-08
सोबिता रिसाल

काठमाडौँ । कर्णाली प्रदेशका सुमन बुढाथोकी हिजो दिउसो सिंहदरवारमा भेटिनुभयो । चर्को घाममा असिनपसिन हुदै सुमन सहित १२ जनाको टोली उर्जामन्त्री बर्षमान पुनलाई भेट्न जाँदै थियो । उर्जामन्त्रीलाई भेट्न खोज्नुको  मुख्य कारण थियो, लोपोन्मुख, सीमान्तकृत तथा पिछडिएको बर्गको लागि उर्जा उत्पादन तथा उपयोगको क्षेत्रमा विशेष व्यवस्था गरिनुपर्ने माग ।

प्रत्यक मन्त्रालय र मन्त्रीलाई भेटेर उनीहरुले सम्बन्धित क्षेत्रमा विशेष सहुलियत दिन माग गरिरहेका छन् । कर्णालीबाट सिंहदरवार पुगेको यो टोलीले अधिकार सहित संविधान संसोधनको पनि माग राख्न भ्याएका छन् ।  

तनहुका अक्कल बहादुर दराई, कृषि, भूमि व्यवस्था तथा शहकारी मन्त्री चक्रपाणी खनाललाई भेट्न चाहनुहुहुन्थ्यो । तर मन्त्रीसँग भेट नभएपछि फेरि सिंहदरबार आउने गरि उहाँ मन्त्रालयबाट निस्कनुभयो । 

आफूले भोट हालेर सांसद बनाएका आफ्ना क्षेत्रका नेता मन्त्री बनेपछि नागरिकका अपेक्षा पनि थपिएका छन् । पानी, सिंचाई, सडक, बिजुली, शिक्षा लगायतको माग गर्दै जिल्लाबाट नागरिक सिंहदरवार छिर्ने गरेका छन् । जाजरकोटमा विद्युतको केन्द्रीय लाईन विस्तार हुन लागेपछि अझै छिटो गर्नुपर्ने माग गर्न भन्दै जाजरकोटका वीरबहादुर बस्नेत सिंहदरवार आईपुग्नुभएको थियो । 

अधिकार र क्षेत्रको विकास माग्दै सिंहदरवारमा मन्त्रीहरुलाई भेट्न पुग्नेहरु सर्बसाधारण मात्रै छैनन्, सांसदहरु पनि उतिकै छन् । विकास योजनाको फाईल बोकेका रौतहटका सांसद सरला यादव र कल्याणी खड्का युवा तथा खेलकुद मन्त्रालय सामुन्ने भेटिनुभयो । रौतहटमा खेलकुद रंगशाला सहित अरु बिकासे योजनामा बजेट पार्न पहल गर्न उहाँहरु मन्त्रालय धाईरहेको बताउनुहुन्छ ।  

सरकारले जेठ १ गते निति तथा कार्यक्रम र १५ गते बजेट प्रस्तुतको तयारी गरेको छ । यही मौका छोप्दै सिहदरवार छिरेपछि विकास, निर्माणका योजना पार्न सकिन्छ भन्ने मान्यताका साथ सांसद्देखि बुद्धिजीविको दौडधुप एकातर्फ चलेको छ । अर्कोतर्फ छुटेका अधिकार समेट्न र पाएको सुविधा कार्यान्वयनको माग गरी सर्वसाधारण पनि सिहदरबार दौडिरहेका छन् । 

स्थानीय तह र प्रदेश सरकार गाँउमा नै पुगेपछि पनि अधिकार र विकासको माग गर्दै नागरिक किन सिंहदरवार धाईरहेका छन् ? संघियताका जानकार डाक्टर खिमलाल देवकोटा भन्नुहुन्छ, गाँउ गाँउमा सिंहदरवारको नारा सरकारले बुझाउन पनि सकेन, नागरिकले बुझ्न पनि सकेनन्। सिंहदरवार नधाईकन अधिकार पाईदैन भन्ने गलत मानसिकता हट्न नसक्दा पनि सिंहदरवारमा भीड कम हुन नसेकेको हुन सक्छ । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार