पाँच बुँदे प्रतिबद्धता जारी गर्दै सासू-बुहारीको कार्यशाला सकियो

प्रकाशित मिति: 2018-05-01
शारदा शाही, रेडियो लुम्बिनी, रुपन्देही

रुपन्देही । पाँच बुँदे प्रतिबद्धता जारी गर्दै सासू-बुहारीबीचको कार्यशाला रुपन्देहीको मणिग्राममा सकिएको छ ।  तिलोत्तमा नगरपालिकाका १ देखि १७ वडासम्मका ८० जना महिला अगुवाहरु कार्यशालामा सहभागी भएका थिए ।

रेडियो लुम्बिनीले आयोजना गरेको कार्यशालामा घरपरिवारको वातावरण सौहार्द राख्न सधैं असल भूमिका खेल्ने प्रतिबद्धतामा जनाइएको छ । अर्काको प्रतिभा, चाहाना, इच्छा र समय अनुसार काम गर्ने वातावरण निर्माण गर्ने, मागी वा भागी बिवाह गरेका बुहारीलाई समान व्यवहार गर्ने पनि प्रतिबद्धता जनाइएको छ ।

श्रीमानको निधनपछि पहिरन र इच्छामा रोकतोक नगर्ने र सासूबुहारीबीच साथीको सम्बन्ध कायम राख्ने प्रतिबद्धतामा उल्लेख छ । कार्यशालामा तिलोत्तमा नगरपालिका अन्तर्गत वडा नम्बर १ देखि १७ सम्मका जनप्रतिनिधि र सासूबुहारीहरुको सहभागिता रहेको थियो ।

कार्यशालामा रेडियो लुम्बिनीका अध्यक्ष मोहन चापागाईले सदभावपूर्ण पारिवारिक वातावरण निर्माणमा सासूबुहारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । जनप्रतिनिधिहरु मार्फत सौहार्दपूर्ण सामाजिक र पारिवारिक वातावरण निर्माणका लागी घरघरमा सन्देश पुर्याउनुपर्ने उहाँको भनाइ थियो कार्यशालामा मिनाक्षी न्यौपाने र पार्वती केसीले सहजिकरण गर्नुभएको छ ।

तपाईंको बिचार