‘स्वास्थ्य नागरिक हक हो, तर उपचार नपाएर मर जस्तो भयो’

प्रकाशित मिति: 2018-04-10
हस्त चौलागाई, रेडियो चंखेली, कालिकोट

जिल्ला अस्पताल कालीकोटमा स्वास्थ्य सेवा लिन आउनेहरुको चाप छ ।

यहाँ जटिल प्रकारका शल्यक्रियाको सेवा छैन । तर सामान्य खालको शल्यक्रिया सेवा पनि पाँच महिना यता बन्द छ ।

जसका कारण प्रसुतिका लागि अस्पताल आउनेहरु समस्यामा परेका छन् । 

जिल्ला अस्पताल कालिकोटमा पाँच महिना यता शल्यक्रिया सेवा बन्द भएको छ । जसका कारण दुुर्गम क्षेत्रबाट प्रसुति सेवा लिन आउनेहरु समस्यामा परेका छन् ।

खाँडाचक्र निवासी मधु वली शल्यक्रिया नहुँदा अकालमा नै मर्नुपर्ने अवस्था आएको बताउनुहुन्छ ।  

शल्यक्रिया मात्रै होईन, स्थानीयहरु सामान्य खालका स्वास्थ्य सेवापनि अस्पतालबाट नपाएको गुुनासो गर्छन् ।

स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा हेलचेक्राई भएको कालीकोटबासीको गुनासो छ ।

खाँडाचक्र नगरपालिका वडा नं.२ का देविराम पाण्डे सरकारले स्वास्थ्य नागरिकको हक भनेपनि औषधी उपचार नपाएर मर जस्तै भएको गुनासो गर्नुहुन्छ । 

नेपाल सरकारले निशुल्क उपलब्ध गराउने धेरै औषधी जिल्ला अस्पताल कालिकोटमा पाईदैन ।

अस्पतालले स्वास्थ्य सेवा भन्दा पनि समस्या थपिदिने कतिपय नागरिक बताउँछन् ।

कालिका गाउँपालिका निवासी धनसोधा पाण्डे भन्नुहुन्छ, ‘स्वास्थ्य सेवा भन्दा उपचार पुरा नहुँदा र औषधी नपाउँदा उल्टो समस्या भएको छ । ’

विशेषज्ञ डाक्टर पनि छैनन

पाँच महिना अघिसम्म विदेशी संस्थाको सहयोगमा सामान्य शल्यक्रिया गर्न सक्ने डाक्टर थिए ।

विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पताल कालिकोटको सेवा प्रभावकारी नभएको अस्पताल प्रशासनको भनाई छ ।  

विशेषज्ञ डाक्टर गएपछि शल्यक्रिया गर्नु पर्ने बिरामीलाई अन्य जिल्लाका अस्पताल पठाईने गरेको छ ।

जिल्ला अस्पताल कालीकोटका निमिक्त कार्यालय प्रमुख डा.मोहम्मद ओजैर आलम विशेषज्ञ चिकित्सक नहुँदा शल्यक्रिया गर्न नसकेको बताउनुहुन्छ ।   

दुुर्गम क्षेत्रबाट स्वास्थ्य सेवा लिन आउने बिरामी जिल्ला अस्पतालमा डाक्टर नभएकै कारण समस्यामा पर्ने गरेका छन् ।

स्थानीय नागरिहरु बर्षैदेखि विशेषज्ञ डाक्टर आउनुपर्ने माग गरिरहेका छन् । 

तपाईंको बिचार