दर्जनौ बस्तिको कथा : धारा छ तर पानी आउँदैन (अडियो)

प्रकाशित मिति: 2018-04-10
सोविता रिसाल, काठमाडौं ।
भक्तपुरमा पानी भर्न लाइनमा राखिएको भाँडा
भक्तपुरमा पानी भर्न लाइनमा राखिएको भाँडा

दुई साताअघि रिर्पोटिङको लागि सिन्धुपाल्चोक पुग्दा सिन्धुपाल्चोक चौतारा सांगाचोकगढी नगरपालिका वडा नम्बर १० मा पानीकै बारेमा छलफल चलिरहेको थियो ।

भूकम्पपछि पानीको मूल हराए । बस्ति नै काकाकुल देखिए । सदरमुकाम चौतारामा समस्या झन् जटिल देखियो । 

भूकम्पबाट अति प्रभावित १४ जिल्लामा अहिले पुनः निर्माणको काम चलिरहेको छ ।

पिउने पानीकै अभाव छ, सरसफाई, करेसाबारी लगाउने काम असम्भव जस्तै बनेको छ । घर बनाउन पनि पानी चाहिने भएकाले झन् असजिलो थपिएको छ । 

भूकम्पपछि सबैभन्दा धेरै गोरखा, नुवाकोट, सिन्धुपाल्चोक लगायतका जिल्लामा पानीको अभाव भएपछि पुनः निर्माणको काम नै प्रभावित भएको छ । 

२०७२ सालमा गएको भूकम्पका कारण बढि प्रभावित १४ जिल्लामा ७ हजार ७ सय ४१ ओटा खानेपानीका आयोजनामा क्षति पुगेको थियो ।

त्यसमध्ये ३ हजार २ सय १२ ओटा खानेपानीका आयोजनामा पूर्ण रुपमा क्षति पुगेको थियो । 

भूकम्पका कारण प्रभावित भएका खानेपानी आयोजनामध्ये अहिलेसम्म २ सय ९८ खानेपानी आयोजना मात्रै बनेका छन् ।

गोरखा पालुङटार च्याङलीका सुनिता श्रेष्ठले पानीको दुःख त खेप्नु भएको छ नै, फोहोर पानीका कारण रोगले थला पर्लाकी भन्ने चिन्ता पनि बढ्न थालेको छ । 

‘कति बर्ष भयो फोहोर पानी पिउनेपर्ने बाध्यता छ’ उहाँले भन्नुभयो ‘पानीको दुःख मात्रै छैन अब त रोग लागेर ज्यान पनि जाला भन्ने डर भयो ।’

अहिले गाउँमा पानीका आयोजना छन् । धारा पनि छ तर पानी आउँदैन । पानी आउंने दिन धारामा रित्तो ग्रागीको लामो लाईन हुने र पानीकै कारण झगडा हुने गरेको छ ।

पानी अभावले किशोरीहरुलाई सरसफाईमा समेत असजिलो भएको छ । 

महिलाले नै पानीको जोहो गर्नुपर्दा पुरुषभन्दा महिलाहरुलाई बढि दुःख छ ।

सरकारले सन् २०१७ भित्र मुलुकभर सबै घरमा शुद्ध पिउने पानी पुर्याउने लक्ष्य लिएको लिएको थियो ।

तर, सबैलाई खानेपानी दिने भनेको एक बर्षपछिसम्म पनि दर्जनौ बस्तिमा खानेपानीका लागि नै संघर्ष गर्नु परिरहेको छ ।

अडियो सुन्नुहोस्

तपाईंको बिचार