हाकुपटासीमा युवाको मोह

प्रकाशित मिति: 2018-03-27
कृष्णमाया तामाङ, भक्तपुर
फोटोःसबिना रुम्बा
फोटोःसबिना रुम्बा

भक्तपुरका २० वर्षीय एलिना चवाललाई नयाँ डिजाइका लूगा भन्दा पुरानो नेवारी हाकुपटासी लगाउन मन लाग्छ । अचेल बजार विभिन्न डिजाइनका लूगाहरु आए पनि भोज र मन्दिर जाने बेलामा भने उहाँलाई हाकुपटासी नै लगाउन मन पर्छ ।  धेरै जसो नेवारी चाडपर्वका बेलामा त उहाँ हाकुपटासीमै सजिनुहुन्छ ।

नेवारी कपडा पनि धेरै किसिमका छन् । सिपु ,दगु गा, हाकुपटासी, कालो पटासी, चार खनागु जनी अर्थात् पटुका, सिपुदगु जनी, बेलविवाह सारी, मलेगचा काप, श्रीछेल् काप ,चारखनाकाप जस्ता कपडाहरु मेसिन तथा हात दुबैले बुन्ने गरिन्छ । पहिले, पहिले यस्ता सबै कपडा हातले नै बुन्ने गरिन्थ्यो, तर हिजो आज मेसिनले पनि बुनिन्छ । मेसिनले बुनेको भन्दा हातले बुनेको कपडामा युवाहरुको मोह धेरै पाईन्छ । 

चाडपर्व तथा भोजका बेला नेवारी समुदायमा हाकृपटासी लगाउने चलन बढेपछि यसको माग पनि बढ्दै गएको छ । पहिला अन्य कपडा नहुदा बाध्यतामा लाउने गरेको हाकुपटासी अहिले भने फेसन जस्तै भएको चवाल बताउनुहुन्छ । 

सानै उमेर देखि हाकुपटासी बुन्दै आउनु भएका भक्तपुरको लिवालीका स्थानीय बासिन्दा कान्छी देवी प्रजापति आफ्नो घरको काम सबै सकाएर दिनमा ३ वटा सम्म हाकुपटासी बून्नु हुन्छ । एउटा हाकूपटासी बुने बापत उहाँले १ सय २५ रुपियाँ प्राप्त गर्नुहुन्छ । पहिलेको तुलनामा अहिले माग पनि बढेको उहाँले बताउनुभयो । महिलाहरुले सामुहिक रुपमा बुनेको यस्तो कपडा सामुहिक रुपमा नै पसलमा बिक्रि हुन्छ । बजारमा किन्दा एउटा हाकुपटासीलाई ८ सय सम्म पर्छ । 

भक्तपुरका महिलाहरुले लगाउने हाकुपटासीमा कालो कपडामा रातो बोर्डर तथा सेतो कपडामा रातो बोर्डर भएको खास्टो हुन्छ ।  हाकुपटासीमा लगाईने चोलो धेरै जसो श्रीपछेलूको लगाइन्छ । हाकुपटासी ठाँउ अनुसार फरक फरक लगाउने गरिन्छ ।

भक्तपुरको  थिमिका महिलाले लगाउने हाकुपटासीमा कालो कपडामा रातो बोर्डर घुमाईएको हुन्छ । कालो खास्टोमा हरियो बोर्डर हुन्छ । वजारमा नयाँ नयाँ डिजानको हाकुपटासी आएपछि पछिल्लो समयमा हाकुपटासी  लगाउनेको संख्या बढेको भक्तपुरका व्यापारी अजय चरण जोसीले जानकारी दिनुभयो । 

 

तपाईंको बिचार