भादगाउँले टोपीको माग बढ्दै

प्रकाशित मिति: 2018-03-27
सबिना रुम्बा, भक्तपुर

नेवारी समुदायमा प्रचलित परम्परागत भादगाउँले टोपीको माग बढेको छ । केही बर्ष अघि टोपीको व्यापार खस्किएपनि अहिले भने यसको व्यापार पनि बढेको छ । भादगाउँले टोपीको माग बढेपछि व्यवसायि पुरानै पेसामा फर्कीन थालेका छन् । 

बोलीचालीको भाषामा कालो टोपी भन्ने गरिएको भादगाउँले टोपी विशेष नेवारी समुदायमा प्रचलनमा छ । भादगाउँले टोपी कहिले देखि सुरु भयो भन्न नसकिए पनि यसको बिक्री भने बढ्दो छ । 

भक्तपुरको भादगाउँले टोपी पहिचानको लागि पनि भक्तपुरवासीले धेरै लगाउने गरेका छन् । विदेशीलाई स्वागत गर्न, विवाह, भोज, गोष्टी लगायतमा भादगाउँले टोपी प्रयोग हुन थालेकाले व्यापारमा सुधार आएको गछेँपथका व्यापारी कासीलाल प्रजापतिले जानकारी दिनुभयो । 

भादगाउले टोपी धेरै जसो चाडपर्वमा लगाउने गरिन्छ । कुनै चाडपर्व वा कार्यक्रमहरुमा यस्तो टोपी लगाउने युवाहरुको सङख्या पनि बढ्दै गएको छ । सरकारले नै बजार वा टोपीको निर्यात गर्ने विशेष बजार तोकिदिए आफूहरुलाई सजिलो हुने कासीलालको भनाई छ । 

२० वर्ष देखि यसै पेसामा संलग्न महालक्ष्मी टोलका हरिशरण शाखाक्षे पहिलेको तुलनामा अहिले व्यापार राम्रो भएको बताउनुहुन्छ । उहाँका अनुसार एउटा टोपीको मूल्य ३ देखि ५ सय रुपैया पर्छ । एक दिनमा उहाँ सहित परिवारका ५ जना सदस्य मिलेर दैनिक ४ टोपी बनाउने उहाँले बताउनुभयो । 

भक्तपुरमा उत्पादित टोपी काठमाण्डौ सहित देशका बिभिन्न जिल्लामा जाने गरेको छ ।  धेरै जसो धिमेबाजा बजाउने र काठमाडौँका नेवार समुदायले प्राय यो टोपी प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । 

तपाईंको बिचार