उद्योगीसँग सहमति भएपछि उखु किसानको आन्दोलन फिर्ता

किसान र उद्योगीबीच ६ बुँदे सहमति

प्रकाशित मिति: 2018-03-27
सुस्मिता चौलागाईं, रेडियो एकता, सर्लाही

सर्लाहीका आन्दोलित उखु किसान र उद्योगीबीच ६ बुँदे सहमति भएको छ ।

गएराती अबेरसम्म जनकपुरमा २ नं. प्रदेश सरकारको रोहबरमा भएको वार्तामा किसान र चिनी उद्योगीबीच विभिन्न ६ बुँदामा सहमति भएको हो ।

सहमतिसँगै चैत २ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका उखु किसानले आजदेखि आन्दोलन फिर्ता लिएका छन् ।

वार्तामा उद्योगीले चैत २२ गतेदेखि उखुको भुक्तानी सूरु गर्ने, पहिलो लटमा एकमुष्ट एक महिनाको भुक्तानी दिने, त्यसपछि १५–१५ दिनको तालिका निकालेर भुक्तानी गर्ने, ढिलोमा आगामी साउनसम्म सबै किसानको भुक्तानी गरिसक्ने सहमति भएको हो ।

त्यसैगरी  उद्योगीले भारतबाट उखु नल्याउने, यहाँका किसानको उखु सकिएपछि भारतबाट उखु ल्याउनु परेपनि स्थानीय प्रशासनसँग स्वीकृति लिएर मात्रै ल्याउने, धुलो, धुँवा र वातावरण प्रदुषण नियन्त्रणको काम गर्ने, उखुको मूल्य निर्धारणमा वर्षेनी भइरहेको विवाद दीर्घकालिन समाधानका लागि प्रदेश सकारको पहलमा नीति बनाएर अघि बढ्ने र सम्झौता अनुसार किसानको उखु सकिएपछि मात्रै उद्योग बन्द गर्ने निर्णय भएको छ ।

प्रदेश नं. २ का उद्योगमन्त्री रामनरेश यादवको रोहबरमा भएको वार्तामा प्रदेश सांसद डिल्ली प्रसाद उपे्रती, उपेन्द्र महतो, अन्य सांसद, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई, उखु किसानका अन्य प्रतिनिधी, इन्दु शंकर चिनी उद्योग हरिवनका राजेश केडिया, रिलायन्स सुगर मिल्स बाराका राजकुमार अग्रवाल, श्रीमार सुगर मिल्स रौतहटका मुन्ना बाबुको उपस्थिती थियो ।

वार्ताले किसानलाई भुक्तानी दिन माग गर्दै आमरण अनसनमा बस्नु भएका हरिवन नगरपालिका–११ का वडाध्यक्ष सेख मेहबुब रेजाको स्वास्थ्य लाभको कामना गरेको एमाले नेता चुडामणि वाग्लेले जानकारी दिनुभयो ।

 

तपाईंको बिचार