अलैची विकास बोर्ड स्थापना गर्न पहल लिन्छु: मन्त्री खनाल

प्रकाशित मिति: 2018-03-22

काठमान्डु । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले अलैंची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैंची विकास बोर्ड स्थापना गर्न पहल लिने बताउनुभएको छ । 

राजधानीमा अलैंचीको विकासका लागि स्वायत्त निकाय (अलैची विकास बोर्ड) स्थापनाका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै उहाँले अलैंची विकास बोर्ड स्थापनाका निम्ति मस्यौदा बनिसकेकाले त्यसलाई मन्त्रिपरिषद्मा लैजान पहल गर्ने बताएका हुन् । ‘अलैची विकास बोर्ड आवश्यक छ, यसका निम्ति मस्यौदा बनिसकेको जानकारी पाएको छु, यसलाई म मन्त्रिपरिषद्मा लैजान पहल गर्छु ।’ उहाँले भन्नुभयो ।

यसअघि गठन भएको कृषिसँग सम्बन्धित विकास बोर्डहरुबाट गर्न सकिने कामहरु समेत नभएको बताउनुहुँदै मन्त्री खनालले अलैंची खेतीको लागि जमिनको पहिचान गर्दै अलंैची खेतीलाई राष्ट्रिय रुपमा फैलाउनुपर्नेमा जोड दिनुभयो । 

अलैंची खेतीको गुणात्मक उत्पादनका निम्ति सरकारले गर्नुपर्ने सहयोग गर्न सरकार तयार रहेको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘नेपालमा ठोस नीति नभएको कारणले कुन खेती कहाँ उपयुक्त हो र कहाँ हुन्छ, कुन चिज कहाँ उत्पादन गर्ने हो भन्ने कुराको राम्रो कार्यक्रम छैन । हामी अब उत्पादनमा केन्द्रित हुने हो, यसलाई विस्तार गर्दै जमिनको पहिचान गरेर अगाडि बढ्नुपर्छ ।’ 

कार्यक्रममा विज्ञहरुले अलैंची खेति विस्तारका लागि आधुनिकिकरण र बजारिकरणमा जोड दिएका थिए । 

 

तपाईंको बिचार