महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढ्यो

प्रकाशित मिति: 2018-02-04
दीलमाया शाही, रेडियो नारी आवाज, जुम्ला

जुम्ला । सरकारले महिलाको नाममा सम्पत्ति राख्ने व्यवस्था गरेपछि जुम्लामा  महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढ्दै गएको छ । महिलाको नाममा घर जग्गा पास गर्दा राजश्वमा  पचास प्रतिशत छुट गरेपछि जुम्लामा महिलाको  नाममा घर र जग्गा पास गर्नेको सङ्ख्या बढेको हो । 

सरकारले महिलाको नाममा घरजग्गा पास गर्दा राजश्वमा  पचास प्रतिशत छुट गर्ने ब्यवस्था गरेको छ । जिल्ला मालपोत कार्यालय जुम्लाका निमित्त प्रमुख रामलाल प्याकुरेलले भन्नुभयो, ‘जुम्लाका  महिलाले आफ्नै नाममा घर र जग्गा पास गर्न थालेसँगै राजश्व सङ्कलनमा पनि वृद्धि भएको छ ।’ आर्थिक वर्ष २०७४/७५ को पहिलो चौमासिकमा २ सय जना महिलाले आफ्नै नाममा घर जग्गा पास गरेका छन् । 

गत वर्ष ४ सय २ जना महिलाले आफ्नै नाममा जग्गा पास गरेका थिए । जिल्लामा अहिले महिलाहरुको नाममा  जग्गा राख्नेको सङ्ख्या  बढ्नुको कारण सरकारले राजश्वमा पचास प्रतिशत छुट दिनु रहेको प्याकुरेलले बताउनुभयो । जग्गा पासबाट आर्थिक वर्ष २०७४/७५ को पहिलो चौमासिकमा नै ५७ लाख ५ हजार भन्दा धेरै राजश्व सङ्कलन भएको छ । 

तपाईंको बिचार