राष्ट्रियसभा चुनाबको कार्यतालिका बनाउँदै आयोग

एक प्रदेशमा एक ठाउँ चुनाब हुने, ४ किसिमको मतपत्र तयार हुँदै

प्रकाशित मिति: 2018-01-09
सोबिता रिसाल

संविधानको धारा ८६ अनुसार राष्ट्रियसभाको गठन हुनेछ । राष्ट्रियसभामा निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनित ३ गरि ५९ जना सदस्य रहनेछन् । राष्ट्रियसभाका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्य गरि २ हजार ५६ मतदाता हुनेछन् । 

निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुखले हालेको एक भोटलाई १८ मानिने छ भने प्रदेश सभाका एक जना सदस्यले हालेको भोटको भार ४८ मानिने छ ।  राष्ट्रियसभाको लागि ५३ हजार ५ सय ८ मतभार रहन्छ । प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित ८, ८ जना गरि  ५६ जना निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगले यसका लागि निर्वाचन कार्यतालिका निर्माणको तयारी गरिरहेको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार आयोग अहिले निर्देशिका बनाउनमा व्यवस्त छ, भोली सम्ममा कार्यतालिका निर्माण हुन्छ । 

प्रत्येक प्रदेशमा छुट्ट छुट्टै राष्ट्रियसभाको चुनाब हुने छ । सरकारले तोकेको अस्थाई राजधानीमा प्रदेशसभाको चुनाब हुने भनिएपनि अस्थाई राजधानी नतोकिएकाले अब प्रत्येक प्रदेशको सरकारले तोकेको कुनै स्थानमा चुनाब हुने छ । पैंतीस वर्ष उमेर पूरा भएको, नैतिक पतन नभएको र  फौजदारी कसूरमा सजाय नपाएको, कुनै संघीय कानूनले अयोग्य नभएको, र कुनै लाभको पदमा बहाल नरहेको जो कोही नेपाली नागरिक उम्मेदवार बन्न सक्ने छ । 

खुल्ला, महिला, दलित, अल्पसङख्यक वा अपाङगता भएका सदस्यको लागि प्रदेश प्रदेशमा ४ किसिमको मतपत्र हुनेछन् । एकल संक्रमणिय मत अर्थात एउटा उम्मेदवारले जितेर बाँकी रहेको मत अर्कोलाई सर्दै जाने मतका आधारमा चुनाब हुने भएपनि मतपत्र कस्तो किसिमले छाप्ने भन्नेमा भने आयोग अझै छलफलमा नै रहेको बताउनुहुन्छ, आयोगका प्रवक्ता नवराज ढकाल । 

राष्ट्रियसभा निर्वाचनलाई डेक्स अर्थात अफिस ईलेक्सन भनिने भएकाले अरु चुनाब र उम्मेदवारले जस्तो खर्च गर्न पाँउने छैनन् । आर्थिक र सामाजिक अनियमितता नहोस् भनेर आयोगले प्रचार प्रसारको समय र सामान्य खर्चको दायरा भने तोक्ने तयारी गरेको छ । सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना पछि माघको पहिलो हप्तामा उम्मेदवारी दर्ताको लागि आयोगले आह्वान गर्दछ । 

आायेगले आवश्यक सबै प्रक्रिया माघ २१ गते अघि नै गरिसक्ने र माघ २४ गते निर्वाचन सम्पन्न गराउने जनाएको छ । निर्वाचन सम्पन्न भएको २ दिन भित्र परिणाम सार्वजनिक गर्ने आयोगले जनाएको छ । पहिलो पटक यस्तो किसिमको निर्वाचन हुन लागेकाले नेता तथा कार्यकर्तालाई  निक्कै चासो लागेको छ । 

 

तपाईंको बिचार