भुकम्पपछि धेरैलाई मानसिक समस्या

तर, न उपचार न परामर्श (अडियो)

प्रकाशित मिति: 2018-01-04
गीता चिमोरिया

भूकम्पको झन्डै तीनवर्ष पुग्न लाग्यो, भत्किएका भौतिक संरचनाहरु त पुनर्निर्माण भइरहेका छन् तर भूकम्पले पारेको मानसिक असरका विषयमा न छ कतै छलफल सुनिन्छ, न त बहस ।

काठमाडौं । २०७२ साल वैशाख १२ गते भूकम्प आउँदा धादिङका ३० वर्षका सपना तामाङ १३ दिनको सुत्केरी हुनुहुन्थ्यो । भूकम्पको त्यो दिन उहाँलाई अन्धकार जस्तै लाग्छ । जीवनको एउटा दुर्घटना जस्तो । उहाँलाई त्यो कहालिलाग्दो दिन फेरी सम्झिन मन छैन ।

भूकम्प एक्लै आएन, सँगै अन्य अप्ठ्याराहरु पनि लिएर आयो । बस्दै आएको ठाउँ पहिरोले बस्न नमिल्ने भयो । भूकम्प आएको १५ दिनपछि गाउँका अन्य मानिससँगै रिमा बस्दै आएको उहाँको परिवार विस्थापित भएर धादिङको दाम्गाडे भन्ने ठाउँमा आएर बसेको छ । 

भूकम्पका बेला सपनाले परिवारका सदस्य त गुमाउनु परेन तर घर, खेतबारी अनि जागिर सबै गुमाउनुप¥यो । सपना स्कुल पढाउनुहुन्थ्यो । बाँकी बसेको समय खेतीपाति गर्नुहुन्थ्यो । भूकम्पले घर लग्यो, पहिरोले खेतबारी । अनि विस्थापित भएपछि भएको एउटा जागिर पनि छुट्यो । अहिले श्रीमान मजदुरी गर्नुहुन्छ । सपना बेरोजगार । हिजो आज सपनालाई आफ्नो निर्णय आफैं गर्न नसक्ने भएको हो कि जस्तो लाग्छ । 

२०७२ सालको भूकम्पबाट ८ हजार ८ सय ९६ जनाको मृत्यु भयो । २२ हजार ३०३ जना घाइते भएका थिए । निजी तथा सरकारी भौतिक संरचना, ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरु ध्वस्त भए । भूकम्पको झन्डै तीनवर्ष पुग्न लाग्यो, भत्किएका भौतिक संरचनाहरु त पुनर्निर्माण भइरहेका छन् तर भूकम्पले पारेको मानसिक असरका विषयमा न छ कतै छलफल सुनिन्छ, न त बहस ।

वैशाख १२ को भूकम्पले सपनाजस्ता धेरै मानिसलाई मानसिक रुपमा अप्ठ्यारोमा पारेको छ । भत्किएका संरचना पुनर्निर्माणका लागि त सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन ग¥यो । तर भूकम्पले सिर्जना गरेको मानसिक समस्याका विषयमा न अहिलेसम्म कुनै अध्ययन भएको छ, न त परामर्श । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.श्रीकृष्ण गिरी मानसिक समस्यामा परेका मानिसको उपचारका लागि छुट्टै कार्यक्रम संचालन गर्न नसकेको बताउनुहुन्छ । 

तत्कालिन समयमा विभिन्न संघसंस्था तथा सरकारले राखेको स्वास्थ्य शिविरमा मानसिक रुपमा समस्यामा परेकाहरुलाई परामर्श दिने काम भयो । तर मनोविदहरुका अनुसार भूकम्पले पार्ने मानसिक असर तत्कालिन रुपमा मात्रै होइन, दीर्घकालिन रुपमा पनि देखिन सक्छ । लामो समयपछि देखिने दीर्घकालीन असरमा डिप्रेसन, पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) र विभिन्न प्रकारका फोबिया आदि जस्ता समस्या देखिन सक्छन् । मनोविद गंगा पाठक भुकम्प पछि धेरै मानिसमा मानसिक समस्या देखिए पनि स्वास्थ्य संस्थामा उपचार वा मनोपरामर्शको लागि कुनै व्यवस्था नहुन दुखद् भएको बताउनुहुन्छ । 

भूकम्पका बेला कहालिलाग्दा दृश्य देखेका, परिवारका सदस्य, आफन्त र बालबच्चा गुमाएका, घरबार र जागिर गुमाएका धेरै मानिसमा दीर्घकालिन रुपमा मानसिक असर देखिने गर्छ । उनीहरुलाई पहिलेकै अवस्थामा फर्काउन सरकारले परामर्शसँगै विभिन्न कार्यक्रम ल्याउन आवश्यक छ ।

 

अडियो सुन्नुहोस्

तपाईंको बिचार