यसरी बन्छ प्रदेशको राजधानी

यी हुन् सम्भावित शहर

प्रकाशित मिति: 2017-11-29
सोविता रिसाल

काठमान्डु । मंसिर २१ गते दोस्रो चरणको निर्वाचन भए लगत्तै हुने मतगणनाले प्रदेश सांसदहरुको टुङ्गो लगाउने भएपनि प्रदेशसभाका लागि संरचनाको अभाव हुने देखिएको छ । निर्वाचित भएर सांसदहरु आईसक्न १५ दिन भन्दा कम समय रहेपनि, प्रदेशको अस्थाई राजधानी समेत तोकिएको छैन 

अहिले प्रदेशको राजधानी तोक्ने बारेमा उम्मेदवारहरुले आश्वासन बाँडिरहेका भएपनि प्रदेशको राजधानी तोक्ने विषय कुनै नेताले बोल्दैमा नहुने जानकारहरुले बताएका छन् । संबिधान अनुसार त्यस्तो स्थान राजधानी बन्छ जुन प्रदेश सरकारको सिफारिसमा प्रदेश संसदबाट दुईतिहाई सांसदले अनुमोदन गर्छन् । तर प्रादेशिक संसदले सिफरिस गरेको शहरमा संसदले दुई तिहाई बहुमत दिएन भने केन्द्रीय सरकारले तोकिदिएको स्थान नै राजधानी रहेको पुर्व सांसद तथा कानुनका जानकार रेवतीरमण भण्डारी बताउनुहुन्छ ।

प्रादेशिक संसदले प्रक्रिया पुरा नगर्दा सम्मको लागि केन्द्रीय सरकारले नै अन्तरिम राजधानी तोकिदिने भनिए पनि सरकारले अँझै तोेकेको छैन । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको नेतृत्वमा विज्ञ समितिले ७ ओटै प्रदेशको राजधानी तयार पारेको छ । तर त्यसमा आन्तरिक विवाद बाँकी नै छ ।

सकेसम्म पुर्वाधारयुक्त वा पुर्वाधार बनाउन सजिलो हुने स्थानमा सहमति खोज्ने प्रयास भईरहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले बताउनुभयो । विज्ञ सम्मेलित टोलीले प्रदेश १ मा विराटनगर, इटहरी वा धनकुटामध्ये एक राजधानी बनाउन सुझाव दिएको छ भने प्रदेश २ को राजधानी जनकपुर मात्रै सिफारिस गरेको छ । प्रदेश ३ मा बनेपा–धुलिखेल, काठमाडौँ र हेटौँडामध्ये एकलाई प्रदेश राजधानी बनाउन उपयुक्त हुने सुझाव दिएको छ ।

४ नम्बर प्रदेशको राजधानी पोखरा मात्रै सिफारिसमा परेको छ भने ५ नम्बर प्रदेशको लागि तुल्सीपुर, दाङ र बुटवललाई सिफारिस गरिएको छ  । ६ नम्बर प्रदेशको राजधानीको लागि सुर्खेत मात्रै सिफरिसमा परेको छ भने प्रदेश नम्बर ७ को धनगढी र डोटीको दिपायल राजधानीका रुपमा सिफारिसमा छ ।

केन्द्रीय सरकारले सिफारिस गरेको शहरलाई अनुमोदन गर्न संसदमा दुई तिहाई बहुमत पुगेन भने त्यो स्वतः खारेज हुन्छ । नयाँ राजधानी बन्नको लागि पनि प्रादेशिक संसदको दुई तिहाई बहुमतले अनुमोदन गर्नुपर्ने हुन्छ । केन्द्रले तोकेको अन्तरिम राजधानीलाई प्रदेश संसदले अनुमोदन गर्न पनि सक्छ वा नयाँ छान्न पनि सक्छ । 

 

तपाईंको बिचार