फेरि पनि दोहरिने अधिकांश पूर्व सांसद्को चाहाना

टिकट पाएकाहरु चुनावपछि फर्कनेगरी जिल्ला जाँदै (अडियोसहित)

प्रकाशित मिति: 2017-10-27
केशव भुल

काठमाडौँ । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा ओखलढुंगा क्षेत्र नम्वर २ बाट प्रत्यक्ष निर्वाचित  पूर्व सांसद रामहरी खतिवडा आउँदो मंसिर १० गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा चुनाव लड्नका लागि राजधानीदेखि जिल्लास्तरसम्म प्रचार प्रसारमै व्यवस्त हुनुहुन्छ ।

'चाबहिलमा ओखलढुङ्गाबाट राजधानी आएकाहरुसँग ठूलो भेला गरेँ, खतिवडाले भन्नुभयो,' भोलिसम्ममा जिल्ला गइसक्छु, अब चुनाव नसकी म राजधानी आउँदैन।' यसअघि सुनसरी क्षेत्र नम्वर २ बाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका पुर्व सांसद रेवतीरमण भण्डारी पनि दोस्रो चरणमा हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा लड्ने सोचमा हुनुहुन्छ । 'मेरो पुरानै क्षेत्र अब नरहलाजस्तो छ, नयाँ क्षेत्रमा चुनौति त हुन्छन नै तर पनि लड्नु नै पर्ला, भण्डारीले भन्नुभयो,' पार्टीले खटाएको ठाउँबाट चुनावमा उठ्नुपर्ला।'

२०७० सालकै संविधान सभाको दोस्रो निर्वाचनमा दाङ जिल्लाबाट समानुपातिक कोटाबाट पूर्वसांसद रेखा शर्माले संसदमा प्रतिनिधित्व गर्नुभएको थियो । यसअघि समानुपातिक कोटाबाट सांसद भए पनि अब भने प्रत्यक्ष निर्वाचन लड्ने उहाँको योजना छ ।

राष्ट्रिय जनता पार्टीबाट यसअघिको संसदमा रौतहटबाट समानुपातिक प्रतिनिधित्व गर्नुभएका पुर्व सांसद डिम्पलकुमारी झा भने दोधारमा हुनुहुन्छ । 'टिकट पाएमा चुनावमा लड्ने बिचार छ, झाले भन्नुभयो,' नपाए पनि पार्टीका तर्फबाट उठेकालाई जिताउन लागिपर्ने बिचारमा छु। '

संसदको अन्तिम समयसम्म रहेका करिव ५ सय ९४ जना पुर्व सांसदमध्ये अधिकांश कोही प्रदेश सभाको निर्वाचन र कोही प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिइसकेका छन् भने कोही उम्मेदवारी दिने तयारीमा छन् ।

पटकपटक सांसद् हुने नेताहरुको चाहानाभित्र विकास, निर्माण र सुशासनमा योगदान दिने अभिरुची कतिको देखिन्छ ? राजनीतिक विश्लेषक डा सुरेन्द्र केसी भन्नुहुन्छ, ' राजनीति राजनीतिजस्तो नभएर व्यापार बनेको छ, दलहरु व्यापारिक थलो बनेकाछन् अनि नेताहरु चुनावबाट जितेर यही व्यापारिक थलोमा जम्मा हुने र सेवासुविधा खाने परिपाटी बढ्दै गएको छ।'

यसअघिको संसदमा सांसद भएका मध्ये धेरैको रुची दोहरिने देखिए पनि कतिपयलाई भने पार्टीले टिकट नदिएपछि आआफ्ना पार्टीका नेतालाई जिताउने अभियानमा छन् । तर को कति पूर्व सा्रसदहरु बिजयी भएर दोहोरिन्छन् त्यो भने हेर्न बाकी नै छ ।

आउदो मंसिर १० गते र २१ गते दुईचरणमा गरी प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुदैछ । प्रतिनिधि सभाको सदस्यका लागि १ सय ६५ र प्रदेश सभाका लागि ३ सय ३० निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलबीच प्रतिस्पर्धा हुदैछ । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार