बिश्वप्रकाशको रोजाई क्षेत्र नम्बर १

पार्टीले निर्णय गरे ओली संग पनि भिड्ने

प्रकाशित मिति: 2017-10-23
ज्ञानेन्द्र निरौला, रेडियो सरगम झापा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बिश्वप्रकाश शर्माले मंसीर २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो रोजाई झापा क्षेत्र नं. १ नै रहेको बताउनु भएको छ ।

पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली बिरुद्ध काँग्रेसले बिश्वप्रकाशलाई उठाउने तयारी गरेको चर्चाका बीच आज रेडियो सरगमसंग कुराकानी गर्दै काँग्रेस नेता शर्माले यस्तो बताउनु भएको हो । 

काँग्रेस नेता शर्माले आफ्नो नाम सर्बसम्मत रुपमा झापा क्षेत्र नं. १ बाट सिफारिस भएको र पार्टीको संसदीय बोर्डको बैठकले समेत झापा १ का लागि उम्मेद्वार निर्णय गरिसकेको बताउनु भयो । शर्माले भन्नु भयो–पार्टीमा छलफल भएकै हो । 

एमाले अध्यक्षसंग प्रतिस्पर्धा गर्ने बारे मसंग पार्टीका नेताहरुले कुराकानी गर्नु भएकै हो ।” शर्माले भन्नु भयो–“मैले लामो समयदेखी काम गर्दै आएको क्षेत्र भनेको झापा १ नै हो त्यसैले मेरो रोजाई पनि झापा १ बाट नै चुनावी मैदानमा उत्रने हो तर पार्टीले निर्णय गरेर झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग प्रतिस्पर्धा गराउन मलाई चुनावी मैदानमा पठायो भने पनि म तयार छु ।” 

काँग्रेस केन्द्रीय सदस्य शर्माले आफु पार्टीको ईमान्दार कार्यकर्ता भएकाले पार्टीको निर्णय मान्न तयार भएको बताउँदै आफ्नो स्थायी बसोबास भएको र २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा समेत आफु झापा १ बाटै चुनावमा प्रतिस्पर्धा गरेको हुनाले मंसीर २१ मा समेत आफु झापा १ बाटै चुनावी मैदानमा उत्रने बताउँनु भयो । 

शर्माले भन्नु भयो “झापा १ कै लागि पार्टीका कार्यकर्ताहरुले मलाई सिफारिस गर्नु भएको छ त्यसको सम्मान गर्नु पनि मेरो कर्तब्य हो ।” एमाले अध्यक्ष ओलीसंगको सभ्भावित प्रतिस्पर्धालाई भने काँग्रेस नेता शर्माले नकार्नु भएन । एमाले अध्यक्ष ओलीसंगको सभ्भावित भिडन्तका बारेमा बोल्दै शर्माले भन्नु भयो चुनावी प्रतिस्पर्धामा केही पनि निर्विकल्प हुँदैन । 

काँग्रेस नेता शर्माले २०६४ को निर्वाचनको प्रसङ्ग स्मरण गर्दै केपी ओली पनि पहिलो संविधान सभामा त्यस क्षेत्रबाट पराजित भईसक्नु भएको छ । त्यसैले ओलीसंग प्रतिस्पर्धा गर्न आफुलाई कुनै अप्ठ्यारो नहुने भन्दै पार्टीले निर्णय गरे उच्च मनोबलका साथ आफु केपी ओलीसंगको चुनावी भिड्न्त गर्न तयार रहेको शर्माले बताउनु भयो । 

यस पटक आफुलाई झापाली मतदाताले संसदमा पु¥याउने बिश्वास ब्यक्त गर्दै संसद जाने बाटो झापा क्षेत्र नं. १ वा क्षेत्र नं. ५ जुन पनि हुन सक्ने शर्माले बताउनु भयो । पार्टीका नेताहरुले देखाउनु भएको बिश्वासलाई सम्मान गर्दै भए पनि आफ्नो रोजाई झापा क्षेत्र नं. १ नै रहेको शर्माले स्पष्ट पार्नु भयो ।

 

तपाईंको बिचार