नेपाल संवत् ११३८ आजदेखि शुरु

राष्ट्रपति, प्रधानमन्त्रीलगायतको शुभकामना

प्रकाशित मिति: 2017-10-20
नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यो संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराउनु भएको थियो ।
नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।
वि.सं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछिदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।
नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा, भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएकोे थियो ।
२०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । 
 
नेपाल संवतमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतको शुभकामना 
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११३८ को अवसरमा स्वदेश तथा विदेशमा रहने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
 
उहाँले सामाजिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्को रुपमा रहेको नेपाल सम्वत्ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान दिने विश्वस व्यक्त गर्नुभएको छ ।
 
उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभ दिपावली–२०७४ र नेपाल संवत् ११३८ को अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा यस पर्वको माध्यमबाट नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, भाईचारा र एकता अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ । 
 
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उज्यालो र रङ्गहरूको महान पर्व तिहारको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एंव दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा उज्यालो र रङ्गहरूको महान पर्व तिहारले नेपालीहरूको धार्मिक, सांस्कृतिक सहिष्णुता, एकता, सहकार्य र सम्मिलनमा अझ प्रगाढता ल्याउँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ । 

तपाईंको बिचार