साउदी अरबको एक विश्वविद्यालयले महिलाहरुका लागि सवारी चालकसम्बन्धी स्कूल खोल्ने भएको छ ।
महिलालाई गाडी चलाउन प्रतिबन्ध रहेको साउदीमा त्यहाँका राजाले हालै मात्र महिलालाई पनि गाडी चलाउन दिने अनुमति दिएपछि विश्वविद्यालयले महिला ड्राइभिङ स्कूल खोल्न लागेको जनाएको छ ।
अहिले त्यसका लागि सरकारबाट अनुमति लिने प्रक्रियामा रहेको र त्यसपछि कक्षा शुरु गर्ने जनाइएको छ ।
गएको मंगलबार राजाको अनुमति अनुसार आउँदो जून २४ गतेदेखि महिलाहरुले सवारी चलाउन पाउनेछन् ।
१८ वर्ष पुगेका महिलाहरुले अब सवारी चलाउन पाउने भएका हुन् । पुरुषका लागि पनि सवारी चलाउन कम्तीमा १८ वर्ष उमेरको हुनुपर्छ, महिलाका लागि पनि उमेर हद बराबरी राखिएको हो ।
साउदीमा अहिलेसम्म महिलालाई गाडी चलाउन रोक लगाइएकोप्रति सबैतिरबाट आलोचना भइरहेको थियो ।
राजाको अनुमतिपछि त्यहाँका महिलाहरुले खुशीयाली मनाएका थिए भने उनीहरुका पक्षमा रहेका विश्वका महिला अधिकार पक्षधरहरुले पनि यो निर्णयको स्वागत गरेका छन् ।
तपाईंको बिचार