आज पनि दशैंको टीका लगाइँदै

प्रकाशित मिति: 2017-10-01
काठमाडौं ।
तस्बिर : गुगल
तस्बिर : गुगल

देशभरका नेपाली हिन्दूहरु अहिले बडादशैं अन्तर्गत नवदुर्गा भवानीको प्रसाद स्वरुप टिका र जमरा लगाएर मान्यजनबाट आशिष लिन व्यस्त छन् ।

दुर्गा विसर्जनपछि परिवारमा सबैभन्दा जेठो व्यक्तिसँग क्रमशः टिका थापेकाहरु आज बाँकी आफन्तको घरमा टिकाटालो गर्न जाने गर्दछन् ।

विशेष गरी मामाघर, ससुराली र बुढोमावलीमा मान्यजनबाट टिका लगाउन जाने चलन छ । एकै दिन टिका लगाउन नभ्याउनेहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म टिका लगाउने चलन छ भने केहि क्षेत्रहरुमा चाँहि दशमीको एक दिन मात्रै टिका लगाउने चलन छ । परिवारमा जेठो व्यक्तिले दशैंको टीका लगाइदिएपछि गच्छे अनुसारको दक्षिणा दिने चलन पनि छ ।

कतिपय ठाउँमा आफन्तको घरमा टिका लगाउन जाँदा कोसेली लैजाने चलन छ । अझ पहिलोपल्ट ससूराली जानेहरुले विशेष कोसेली तथा उपहारहरु लैजाने गर्छन् । मान्यजनहरुले छोरी, ज्वाई, भान्जाभान्जीलाई टिकासँगै आशिर्वाद र दक्षिणा पनि दिने चलन छ ।

त्यस्तै, दशैंको टिकाको दिन पिङमा मच्चिएर एकछिन भएपनि धर्ती छोड्नुपर्छ भन्ने मान्यताका साथ अधिकांश गाउँका खर्क, देउराली तथा चौरहरुमा दिनभर पिङमा मच्चिनेहरुको जमघट देखिन्छ । 

 

तपाईंको बिचार