आज विजयादशमी, टिकाको उत्तम साइत ११ः५५ बजे

राष्ट्रपति, प्रधानमन्त्रीलगायतको शुभकामना, टिका पनि लगाइ दिने

प्रकाशित मिति: 2017-09-30
तस्वीर गूगल
तस्वीर गूगल

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइँदैछ ।

आज टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत बजेर ५५ मिनेटमा उत्तम रहेको पंचाग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सीआईएनलाई जानकारी दिनुभयो ।

तर विजयादशमीको दिन आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने पनि उहाँले बताउनुभयो ।

आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दशैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।


राष्ट्रपतिको शुभकामना 

राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंका अवसरमा स्वदेश तथा विदेशमा रहने सबैका नेपालीका लागि सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा सबै जातजाति र धर्मावलम्बीहरुको साझा फूलवारीको प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गर्न सकोस् भन्नुभएको छ । 
उहाँको सन्देशमा आगामी मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उल्लासपूर्ण रुपमा सहभागी भइ आफ्नो मताधिकारको प्रयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई शक्तिस्वरुपा दुर्गा भवानीले अग्रसर हुने आशिष दिउन् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।


उपराष्ट्रपतिको शुभकामना
उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना सन्देश दिँदै राष्ट्रको निरन्तर समुन्नति र समृद्धिका साथै समस्त नेपालीमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ । उहाँले सन्देशमा संविधानले सबै धर्म, संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने अधिकार प्रत्याभूत गरेको उल्लेख गर्दै संविधान कार्यान्वयनका क्रममा हालै सम्पन्न स्थानीय तहको निर्वाचन र आगामी मंसिरमा हुने सङ्घ र प्रदेशको निर्वाचनले मुलुकलाई आर्थिक समृद्धिको यात्रामा द्रुत रुपमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।


प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले बडा दशैंको अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । शुभकामना सन्देशमा जननिर्वाचित संविधानसभाले बनाएको संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेको, शान्ति प्रक्रिया लगभग टुङ्गिएको र मुलुकमा बल्ल राजनीतिक स्थायित्व कायम भएको उल्लेख गर्दै उल्लासमयरुपमा बडादशैं मनाउन भनिएको छ । 


एमाले अध्यक्ष ओलीको शुभकामना

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बडादशैंले राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय स्वाभिमान, शान्ति र लोकतन्त्रको दिशामा मुलुकलाई अगाडि बढाउन बडादशैंबाट सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ । उहाँले जननिर्वाचित संविधानसभाबाट जारी संविधानको प्रभावकारी कार्यान्वयनको दिशामा मुलुक अगाडि बढेको र हालै सम्पन्न स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो साबित भएको बताउनुभएको छ । अब मंसिर १० र २१ गते प्रदेश सभा र संघीय संसदको निर्वाचन सम्पन्न भएपछि राजनीतिक संघर्ष मूलतः समाप्त हुने र आर्थिक विकासको चरणमा प्रवेश गर्ने भएकाले मुलुकलाई स्थिर र समृद्ध बनाउन सक्ने इमान्दार र स्वच्छ जनप्रतिनिधिलाई चुन्न आग्रह गर्नुभएको छ ।

यस्तै  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नयाँ संघीय संरचनाअनुसार सात प्रदेशका ७७ जिल्लामा रहेका कुल ७५३ स्थानीय तहको निर्वाचन सम्पन्न भएको सन्देश नेपाली जनतालाई दिन पाउँदा निर्वाचन आयोग गर्वको अनुभव गरेको बताउनु भएको छ । 
विजयादशमीका अवसर पारेर आज जारी गर्नुभएको सन्देशमा बडादशैंले सबैको सुखी र समृद्ध बनाउन सकोस् भन्दै चाडपर्व मनाएर प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न गर्नका सबैको लाग्नुहुनेछ भन्ने अपेक्षा पनि गर्नुभएको छ । 
पूर्व राजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमासबै नेपालीमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गर्नुहुँदै मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता स्थापित गर्दै जाने र आयातित संस्कृति र धर्मलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । 


राष्ट्रपति र प्रधानमन्त्रीले टिका लगाइ दिने 

राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टिका थाप्न चाहनेका लागि राष्टपति कार्यालयले इच्छुक विशिष्ट व्यक्तिहरुलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र अन्यका लागि दिउँसो ३ बजेदेखि साँझसम्म टीका लगाइने कार्यक्रम रहेको छ । कार्यालयका अनुसार टिकाका लागि शीतलनिवासको गेट नं १ को ढोका खुला रहनेछ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दिउँसो ४ बजेदेखि इच्छुकरुलाई टिका लगाइ दिनुहुने भएको छ । उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा टिका लगाइदिने कार्यक्रम रहेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । 

तपाईंको बिचार