आज आश्विन शुक्ल नवमी, अर्थात बडादशैं अन्तर्गत महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ ।
महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगेर चढाउने गरिन्छ ।
दशैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र देवी स्तोत्र पाठ गर्ने चलन छ । पशुबलि नदिनेहरूले भने आज कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिबलसमेत बलि चढाउने गर्दछन् ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजा सहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।
आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइन्छ । हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ ।
यसअघि हिजो बडादशैँको महाअष्टमी पर्व मनाइयो । हिजो महाअष्टमीको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले पनि हिजो उपत्यकाका शक्तिपीठहरूको दर्शन र पूजा अर्चना गर्नुभएको थियो ।
तपाईंको बिचार