आज राष्ट्रिय बालदिवस मनाईंदै, हिजो दीप प्रज्वलन

संविधानमा के के छ व्यवस्था बालबालिकाको विषय ?

प्रकाशित मिति: 2017-09-14
लक्ष्मी बस्नेत, काठमाडौं ।
बाल दिवसको पूर्वसन्ध्यामा हिजो साँझ गरिएको दीप प्रज्वलन
बाल दिवसको पूर्वसन्ध्यामा हिजो साँझ गरिएको दीप प्रज्वलन

आज बालदिवस २०७४, विभिन्न कार्यक्रम गरिंदैछ । नेपाल सरकार महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा यो दिवस देशभर मनाईंदै छ ।

दिवस मनाउनका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । यही समितिको आयोजनामा आज बिहान ११ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यक्रम हुँदैछ भने भने प्रत्येक जिल्ला र स्थानीय तहहरुले पनि आज यो दिवस मनाउने मन्त्रालयले जनाएको छ । यसवर्ष दिवसको नारा “बालमैत्री शासनः बालअधिकारको सम्मान” भन्ने तय गरिएको छ ।

बालअधिकारको सम्मान, संरक्षण र परिपालनाका लागि हरेक तहको शासन पद्धति बालमैत्री हुनुपर्ने र बालबालिकाका विषयलाई प्राथमिकता दिनुपर्ने भएकाले यो नारा तय भएको मन्त्रालयले जनाएको छ । 

दिवसको पूर्वसन्ध्यामा हिजो मन्त्रालय र बालकल्याण समितिको आयोजनामा काठमाडौंको सिनामंगलस्थित पार्कमा रहेको बाल स्तम्भमा दीप प्रज्वलन गरिएको थियो । नेपालमा एक दशकसम्म भएको द्धन्द्धको समयमा र अन्य विविध कारणले ज्यान गुमाउन पुगेका बालबालिकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको थियो ।

नेपालमा २०२२ सालदेखि भदौ ४ गते बाल दिवस मनाउँदै आएकोमा  जनआन्दोलन–२ को राजनीतिक परिवर्तनपछि राष्ट्रिय बाल दिवस मनाउने मिति परिवर्तन भई हाल बालअधिकार सम्बन्धी महासन्धि, १९८९ लाई वि.सं. २०४७ साल भदौ २९ गते (१४ सेप्टेम्बर, १९९०) अनुमोदन गरेको दिन यो दिवस मनाउन लागिएको हो । 

बालबालिकाको कुरा गर्दा वर्षदेखि “बालविवाह रोकथाम तथा न्यूनीकरण अभियान”, “शारीरिक तथा मानसिक दण्ड सजाय रोकथाम तथा नियन्त्रण अभियान”, “विद्यालय शान्ति क्षेत्र घोषणा अभियान”, “बालमैत्री स्थानीय निकाय घोषणा अभियान”, “बालबालिका बेचविखन तथा ओसारपसार रोकथाम तथा नियन्त्रण अभियान”, “बालश्रम निवारण तथा न्यूनीकरण अभियान”, “सडक बालबालिका मुक्त अभियान” र “जोखिमपूर्ण अवस्थामा रहेका बालबालिका उद्धार तथा संरक्षण अभियान” लगायतलाई समेत यस अवसरमा प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । यसलाई सरकारले पनि प्राथमिकताका साथ काम गरिरहेको मन्त्री कोइरालाले बताउनु भएको छ । 

संविधानमा के के छ व्यवस्था ? 

नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३९ मा बालबालिका हक को व्यवस्था रहेको छ । जसअन्तर्गत निम्न व्यवस्था छः 

१) प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामाकरण र जन्मदर्ताको हक हुनेछ । 
(२) प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ ।
(३) प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बालसहभागिताको हक हुनेछ । 
(४) कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन । 
(५) कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन । 
(६) कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन । 
(७) कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन । 
(८) प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ
(६) कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन । 
(७) कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन । 
(८) प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ । 

तपाईंको बिचार