अपांगता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाण्डौ र ईन्फिनिटि ल्याबको संयुक्त प्रयासमा नेपालमा नै पहिलो पटक उत्पादन भएको विद्यूतिय ह्विल चियरको आज औपचारिक रुपमा विमोचन भएको छ ।
काठमाण्डौमा आज भएको एउटा समाहरोहका विच अर्थराज्यमन्त्री उदयशमशेर राणा तथा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा ह्विलचियरको विमोचन गर्नुभएको हो ।
नेपाल मै पहिलो पटक पाँच जना इन्जिनियरहरुले ‘विद्यूतिय ह्विल चियर’ निर्माण गरेका हुन् । ह्विल चियरको नाम उनीहरुले लियोपार्ड राखेका छन् । ‘इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ’ विषय पढेका विद्यार्थीहरुले करिब दुई वर्ष लगाएर स्मार्ट ह्विल चियर निर्माण गरेका हुन ।
नेपालमै, नेपालकै लागि भनेर बनाईएको अपांगमैत्री ह्विल चियर सात लाख लाख रुपैयाँ लागतमा बनेको उनीहरुले बताएका छन् । यसमा उनीहरुले आफ्नो श्रमको मूल्य भने जोडेका छैनन् ।यो ह्विलचियर प्रयोगमा आए विदेशबाट मंहगो मूल्यमा ह्विलचियर मगाउनुपर्ने बाध्यता हट्ने छ । यो ह्विलचियर व्यवसायिक रुपमा बने एउटालाई ३ लाख रुपैया सम्ममा बेच्न सकिने ईन्जिनियर सुनिल परियारले जानकारी दिनुभयो ।
ह्विल चियरको अनावरणपछि अर्थराज्यमन्त्री शमशेरले युवा ईन्जिनियरहरुको कामको प्रसंसा गर्दै यस्तो खाले ह्विलचियरको प्रवद्धनको लागि आउदो दिनहरुमा आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आफ्नो मन्त्रालयबाट ईन्फिनिटि ल्याब र युवा ईन्जिनियरहरुलाई गर्न सकिने सहयोग गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालमा नै केही गर्छु भन्ने प्रतिभाहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो ।
यस्तै बरिष्ठ कलाकार हरिवंश आचार्यले ह्विलचियर निर्माण गर्ने युवाहरुलाई नेपालमा नै स्थापित गराउनका लागि सरकारले केही सोच्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेसका सांसद उषा गुरुङ्गले युवा ईन्जिनियरहरुको कामको प्रसंसा गर्दै विद्यूतिय ह्विलचियरको स्थायीत्वको लागि आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
ईन्फिनिटि ल्याबका युवा ईन्जिनियर सुनिल परियार, सन्तोषराज न्यौपाने, मेन्सन लाखेमरु, भरत केसी र प्रजेश श्रेष्ठ मिलेर ह्विलचियर बनाएका हुन् । उनीहरुलाई अपांगता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाण्डौले सघाएको हो ।
यो ह्विलचियर नेपाली माटो र नेपाली बाटो सुहाउदो भएको ईन्जिनियरहरुले दाबी गरेका छन् । अब यसलाई व्यवसायिक रुपमा निर्माण गर्नका लागि लगानी गर्ने व्यक्ति र सहयोगको खाँचो रहेको उनीहरुको भनाई छ ।
सीआइएलका अध्यक्ष गणेश केसीले विद्यूतिय ह्विलचियर बनाउन सहकार्य गर्न पाँउदा खुसी लागेको बताउदै यसको व्यवसायिकरणको लागि सरकारले पहल गर्नुपर्ने अवश्यकता औल्याउनुभयो ।
के छ ह्विलचियरको विशेषता ?
नेपालमा चलनचल्तिमा रहेको ह्विलचेयरको तुलनामा यो फरक रहेको छ । यो स्मार्ट इलेक्ट्रिक ह्विल चियर २ देखि ३ घण्टामा चार्ज हुन्छ । एक पटक पूरा चार्ज भइसकेपछि यो २० देखि २५ किलोमिटर गुड्न सक्ने ईन्जिनियर सन्तोष न्यौपानेले जानकारी दिनुभयो । ह्विल चियरमा प्रयोगकर्ताको सुविधालाई ध्यानमा राखि व्यक्तिगत सामग्री राख्न पछाडिपट्टी सानो झोलाको पनि व्यवस्था गरिएको छ । झोलामा औषधी, औजार तथा अन्य सामग्री सजिलै राख्न सकिन्छ ।
ह्विल चियरको बाँयापट्टी छेउमा पानीको बोतल राख्ने स्ट्यान्ट छ भने अगाडी २० देखि २५ केजी तौलको सामान राख्न मिल्ने डिजाइन गरिएको छ । पिसाब फेर्नका लागि थैलीको समेत व्यवस्था गरिएको छ । ह्विल चियरमा जीपीएस सिस्टम जडान गरिएको छ । जसका माध्यमबाट आफ्ना नजिकका मान्छेलाई सम्पर्क गर्न सजिलो हुन्छ । ह्विल चियर अहिले हातले चलाउन सकिन्छ, तर पछि विस्तार गरेर मुख, चिउँडो, आँखाको माध्यबाट पनि चलाउन सकिने बनाउन सकिने ईन्जिनियरहरुले बताएका छन् ।
यो ह्विल चियर उकालोमा पनि चढ्न सक्ने बिशेषता बोकेको रहेको ईन्जिनियर सुनिल परियारले जानकारी दिनुभयो । ह्विल चियरहरुमा लामो समयसम्म बस्ने मानिसहरुको ढाडमा समस्या आउन सक्छ । तर यसमा राम्रोसँग हावा छिर्ने गरि बनाईएकाले प्रयोग गर्दा ढाडमा समस्या नहुने पनि ईन्जिनियरहरुले दाबी गरेका छन् ।
तपाईंको बिचार