पत्रकार महासंघको नेतृत्व चयनका लागि मतदान हुँदै

कार्यसमितिमा महिला सहभागिता कम हुने

प्रकाशित मिति: 2017-08-21

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५औं महाअधिवेसनमा आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । महाअधिवेशनले ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

हिजो नै उम्मेदवारी दर्ता भइसकेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार ४७ पदका लागि १२१ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा पदका लागि गोविन्द आचार्य, तीर्थ कोइराला, इन्द्रबहादुर राउत, उजिर मगर र भावना विद्रोहीको उम्मेदवारी परेको छ । नेपाल पत्रकार महासंघको महाधिवेशनमा यसपटक कांग्रेस निकट प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरबीच तालमेल भएको छ । गठबन्धनबाट अध्यक्षमा गोविन्द आचार्य उम्मेदवार हुनुहुन्छ भने एमाले निकट प्रेस चौतारीले तीर्थ कोइरालालाई उम्मेदवार बनाएको छ । बाँकी अरु ३ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । 

यस्तै उपाध्यक्ष खुलाको एक पदका लागि विपुल पोखरेल, मात्रिका पौडेल र दीपक पाठकले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै महासचिव एक पदका लागि रमेश विष्ट र बालकृष्ण बस्नेतबीच प्रतिस्पर्धा हुने भएको छ । महिला सचिवका लागि लक्ष्मी पुन र सुष्मा पौडेलले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्ष समावेशी एक पदका लागि दिलिप थापामगर र महेश दासको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदका लागि खगेन्द्र पन्त र राजेश मिश्रको उम्मेदवारी परेको छ ।

महासंघको चुनावका लागि देश तथा विदेशबाट एक हजार ५१५ प्रतिनिधि काठमाण्डौं आएका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता सूचीअनुसार महाधिवेशनमा स्वदेशबाट एक हजार ५०८ र प्रवासबाट ८ जना मतदाता सहभागि छन् । मतगणना मतदान सकिए लगत्तै गरिने छ । 

कार्यसमितिमा महिला सहभागिता कम हुने 

समावेशीको दृष्टिकोणबाट भने यो पटक पहिलेभन्दा कम समावेशी हुने देखिएको छ । अध्यक्ष पदमा स्वतन्त्र हिसाबले एकजना भावना विद्रोहीले उम्मेदवारी दिए पनि प्यानलबाट पुरुषहरुकै उम्मेदवारी परेको छ । 

उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा लेखा समितिको संयोजक जस्ता मुख्य र कार्यकारी पदमा पनि महिलाको उम्मेदवारी छैन ।

यसअघि समावेशी उपाध्यक्षमा अनिता विन्दूले जितेको भए पनि यस पटक कुनै पनि प्यानलले उपाध्यक्षमा महिला उम्मेदवार बनाएका छैनन् ।

जिल्ला तथा प्रतिष्ठान शाखाहरुमा महिला उपाध्यक्षको व्यवस्था महासंघको विधानले गरे पनि केन्द्रमा त्यो व्यवस्था गरिएको छैन ।

महिला कोटाको रुपमा महिला सचिव भनेर एक जना र सदस्य पदमा मात्र महिला छुट्टाइएको छ । यसरी हेर्दा एकजना महिला सचिव र केही सदस्य महिला मात्र आगामी कार्यसमितिमा देखिनेछ । 

 

 

 

तपाईंको बिचार