नेपालगन्जको रेडियो सदभावले बाढी प्रभावित बाँकेको राप्ती सोनारी गाउँपालिका तीनस्थित बैजापुरमा आयोजना गरेको स्वास्थ्य शिविरमा सात सयभन्दा बढीको स्वास्थ्य जाँच तथा उपचार गरिएको छ । रेडियोले हिजो एक दिने स्वास्थ्य शिविर आयोजना गरेको हो ।
शिविरमा आएका मध्ये जटिल प्रकृतिका ५० जनाभन्दा बढीलाई बिशेषज्ञ उपचारका लागि नेपालगन्जका अस्पतालमा रिफर गरिएको छ । ‘जेष्चर्स अफ काइन्डनेस ग्रुप’ र नेपालगन्ज मेडिकल कलेजका मेडिकल अफिसरसहितको एक दर्जन बढीको चिकित्सक टोलीले विरामीहरुको उपचार गरेको थियो ।
गाउँमै निशुल्क स्वास्थ्य जाँच र उपचार पाएपछि स्थानीयले आफुहरुलाई विपतका बेला सहयोग पुगेको भन्दै खुसी व्यक्त गरेका थिए । बाढी र डुवानपछि विभिन्न रोगको संक्रमणले स्थानीयबासीहरु विरामी पर्न थालेपछि त्यसलाई नियन्त्रणमा राख्न शिविर गरिएको स्टेशन प्रमुख नवीन गिरीले बताउनुभयो ।
उपचारमा संलग्न डाक्टर ऋषी भट्राईले सिविरमा आएकाहरुमा रुघाखोकी, ज्वरो र छाला सम्बन्धि समस्या बढि देखिएको जानकारी दिनुभयो ।
बाढीपछिको अवस्थामा यस्ता खाले रोगहरु प्राय सर्ने खालको हुने हुँदा सरसफाईमा ध्यान दिन भट्राईले सुझाव पनि दिनुभएको छ ।
बाढी प्रभावितका लागि ‘रेडियो सदभाव बाढी प्रभावित राहत कोष’मा जम्मा भएको रकमबाट कमिलाल थारुको घर निर्माणका लागि राप्तीसोनारी गाउँपालिकामार्फत ६ बण्डल जस्तापाता हस्तान्तरण गरिएको छ । थारुको घर भत्किदा तीन छोरीको मृत्यु भएको थियो ।
तपाईंको बिचार