काठमाण्डु । काठमाण्डुबाट मधेश झरेका विद्यार्थीहरुले रौतहटका २ सय परिवार बाढी पिडितलाई राहत वितरण गरेका छन् । राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको समुहले स्वतन्त्र रुपमा संकलन गरेको ३० लाख मूल्य बराबरको खाद्यान्न र लत्ता कपडा रौतहटस्थित लक्ष्मीपुरका बाढी पिडितलाई वितरण गरिएको अनेरास्ववियुका केन्द्रिय सदस्य अशोक थापाले जानकारी दिनुभयो ।
‘लक्ष्मीपुरका २ सय परिवार बाढी पिडितलाई खाद्यान्न र लत्ता कपडा वितरण गरेका छौं, पहाडमै जन्मिएको पहाडमै हुर्किएका हामीले तराईमधेशको पीँडामा मल्हम लगाउन प्रयासमा जुटेका हौंं’, अनेरास्ववियुका केन्द्रिय सदस्य समेत रहेका राहत संकलन अभियन्ता अशोक थापाले भन्नुभयो । उनीहरुले रौतहटस्थित स्थानीय प्रशासनसँग समन्वय गरेर लक्ष्मीपुरका बाढी पिडितलाई राहत उपलब्ध गराएका हुन् ।
‘हामी फरक फरक संगठनमा आवद्ध थियौं, देशमा संकट आउँदा मिल्नु पर्छ भनेर काठमाडौंबाट राहत बोकेर तराई झरेका हौं’, अखिल क्रान्तिकारीका सचिवालय सदस्य नरेश रेग्मीले भन्नुभयो ।
नेपाल विद्यार्थी संघ आर. आर इकाईका उपाध्यक्ष पुस्कर बास्तोलाले तराई मधेश डुबानमा पर्दा टुलुटुलु हेरेर बस्न नसकेको बताउँदै भन्नुभयो –‘हिमाली, पहाडी वा मधेशी जे भएपनि आखिर हामी नेपाली हौं, एउटा नेपालीलाई दुःख पर्दा अर्काे नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावना बोकेर राहत बाढ्न आयौं ।’
अभियानमा राष्ट्रिय बक्सिङ संघका महासचिव महेश श्रेष्ठ, स्वतन्त्र विद्यार्थी युनियन आर. आर क्याम्पसका कोषाध्यक्ष संगम देवकोटा, सुभाष ढुंगाना, देवेन्द्र शर्मा, सागर ज्ञवाली, नविन केडी, सुष्मा बराइली, तुलसा कार्की लगायत सैंयौं विद्यार्थीहरुले सहयोग गरेको अखिल केन्द्रिय सदस्य थापाले जानकारी दिनुभयो ।
तपाईंको बिचार