बाढी पहिरोको क्षति : ७० को मृत्यु, ५० हजार घर डुबानमा

मृतकका परिवारलाई सरकारको दुई/दुई लाख राहत

प्रकाशित मिति: 2017-08-14
काठमाडौं ।

अविरल वर्षाका कारण मुलुकभर पहिरो, बाढी र डुबानका कारण ७० जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । ३० जनाभन्दा बढी घाइते भएका गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्री जनार्दन शर्माका अनुसार ५० हजारभन्दा बढी घर डुबानमा परेका छन् । २० हजार घर भत्किएका छन् । 

क्षतिको पूर्ण विवरण अझै आइनसकेको शर्माले बताउनुभयो । विभिन्न जिल्लामा भएको क्षतिका विवरणहरु आउनेक्रम चलिरहेकाले क्षति अझै बढ्न सक्ने उहाँले बताउनुभयो ।

कतिपय प्रभावित ठाउँमा उद्धार गर्नुपर्ने भए आज बिहानैदेखि त्यो काममा लाग्ने र सबै ठाउँमा सुख्खा खाना, त्रिपालको व्यवस्था गरी अस्थायी बसोबासको व्यवस्था मिलाउने मन्त्री शर्माले सीआईएनलाई बताउनुभयो । आवश्यक लत्ताकपडा, भाडाकुंडा, उपचारका लागि स्वास्थ्यकर्मीको टोली आदीको व्यवस्था प्रारम्भिक रुपमा गरिने शर्माले बताउनुभयो ।     

यसैबीच, सरकारले बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख दिने निर्णय गरेको छ । हिजो अबेला प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । बैठकले मन्त्रिपरिषद्का सदस्यहरुको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको छ । 

बैठकले बाढीपीडितका लागि खाद्यान्न, औषधी उपचारको व्यवस्था युद्धस्तरमा गर्ने निर्णय गरेको छ । बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको सम्बन्धमा अध्ययन गरी सोहीअनुरुप पीडितलाई दिइने क्षतिपूर्तिबारे पछि निर्णय लिइने बताइएको छ । 

यसैबीच, बाढीग्रस्त क्षेत्रको निरीक्षण तथा अनुगमनका लागि आज प्रधानमन्त्री शेरबहादुर देउवा सप्तरी, महोत्तरीलगायत जिल्ला जानुहुने कार्यक्रम रहेको सञ्चारमनत्री बस्नेतले जानकारी दिनुभयो । प्रधानमन्त्रीको भ्रमणपछि थप राहतको प्याकेज घोषणा हुने बताइएको छ ।

यस्तै, राजनीतिक दलहरुले पनि बाढी पीडितको उद्धार र राहत वितरणका लागि अग्रसरता देखाएका छन् । नेपाली कांग्रेसका सम्पूर्ण सांसदहरुले एक महिनाको तलब बाढी पीडितको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । कांग्रेसको हिजो बसेको कार्यसम्पादन समितीको बैठकले यस्तो निर्णय गरेको नेता बालकृष्ण खाँडले सीआईएनलाई जानकारी दिनुभयो । 

नेकपा एमालेले भीषण वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न भागमा उत्पन्न मानवीय र भौतिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै तत्काल प्रभावकारी उद्धार र राहत वितरण गर्न सरकारसँग माग गरेको छ । एमाले उपाध्यक्ष भीम रावलले संकटको यस घडीमा बाढी पहिरो पीडितको उद्धार तथा राहतको काममा स्वयंसेवकका रूपमा तत्काल खटिन पार्टी पङ्क्तिलाई आह्वान गरिएको सीआईएनसँग बताउनुभयो । 

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले वक्तव्य जारी गर्दै राज्यको सम्पूर्ण शक्ति प्रयोग गरि पीडितको उद्धारमा लाग्न सरकारलाई आग्रह गर्नुभएको थियो । साथै उहाँले पार्टीको सिंगो तहलाई उद्धार र राहतमा लाग्न निर्देशन दिनुभएको थियो  ।

तराई मधेस केन्द्रित दलका नेताहरुले समेत आफ्ना कार्यकर्तालाई बाढी पीडितको उद्धार र राहतमा लाग्न निर्देशन दिएका छन् । 

 

 

 

 

 

 

तपाईंको बिचार