रौतहटमा गर्भवतीलाई अस्पताल लैजाँदै गरेको गाडी बगायो

एकै परिवारका ६ जनाको मृत्यु

प्रकाशित मिति: 2017-08-13
ओम प्रकाश यादव, मधेश जनअवाज एफएम, रौतहट

रौतहटमा आज गर्भवती बोकेको गाडी बाढीमा डुब्दा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।

जिल्लाको परोहा गाउँपालिका वडा नं ३ लौकाहाका रामसेवक प्रसाद यादवका बुहारीलाई सुत्केरी गराउन अस्पताल लैजाने क्रममा आज विहान राजपुर फरहदवा चोकमा बाढीले गाडी डुबाएको थियो । 

आज विहान ३ बजेको समयमा भारतीय नम्बर प्लेटको गाडीमा लौकाहाबाट प्राथमिक स्वास्थ्य केन्द्र राजपुर फरहदवा लैजाने क्रममा लालबकैया नदिको बाढीले सडक कटान गरेको स्थान राजपुर फरहदवा चोकमा नै गाडी सडकबाट तल खसेको हो ।

मृत्यु हुनेमा लौकाहाका ३२ वर्षिय चन्दन किशोर यादव, चन्दनकी गर्भवती श्रीमती सर्मिला यादव, आमा सुमित्रा देवी, भाउजु ललिता देवी, भतिजा सरोजकुमार यादव र छोरी छोटु यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

गाडीमा आठ जना सवार रहेकोमा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक र एक जना अर्का व्यक्ति पौडेर बाच्न सफल भएका हुन् । 

गाडीमा सवार गर्भवतीसहित चार जना महिला र दुई पुरुषको मृत्यु भएको हो । बाटो कटान गरेको थाहा नपाउँदा गाडी डुबेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय राजपुर फरहदवा र जिल्ला प्रहरी कार्यालय गौरको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको थियो । उद्धार टोलीले खाल्टोबाट मृतकहरुको शव निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखेको छ । 

 

तपाईंको बिचार