नवलपरासीको दाउन्ने क्षेत्रमा शुक्रबार रातीदेखी सडक अबरुद्ध छ । शुक्रबारदेखीको लगातारको बर्षाका कारण दाउन्नेमा दर्जनबढी पहिरो झरेको छ । करिब १० मिटर सडक भासीएको छ ।
दाउन्ने पूर्व र पश्चिम २५ किलोमिटर क्षेत्रमा सवारीको लामो लाम लागेको छ । लगातार पानी परेका कारण पहिरो पन्छाउन र सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । फसेका यात्रुलाई खाना र पानीको समस्या भएको छ ।
यसैबीच, नवलपरासीको प्रदेश नं ५ अन्तर्गत पर्ने पश्चिमी खण्डमा लगातारको बर्षाले अधिकांश क्षेत्र डुबानमा परेको छ । राजमार्ग क्षेत्रमा पानी जमेका कारण यातायात सुचारु हुन सकेको छैन । सयौं घरमा पानी पसेको छ ।
बर्दघाट सुनवल रामग्राम नगरपालिका, पाल्हीनन्दन, प्रतापपुर, सरावल गाउँपालिकाका अधिकांश बस्ती डुबानमा परेका छन् । सरावलको ६ र ७ मा झरही खोलाको पानी पस्दा ७० घर पूर्ण रुपमा डुबानमा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
यता चितवनमा राप्ती नदीले खतराको चिन्ह पार गरेको जिल्ला विपद् सुचना व्यक्ती बलराम लुईटेलले जानकारी गराउनुभएको छ । राप्ती नदीमा खतराको चिन्ह पार गरेर पानी ६ मिटरमा पुगेको छ । ४ मिटर खतराको चिन्ह रहेको लुईटेलले बताउनुभयो । राप्तीका कारण भण्डारा र जगतपुर पटिहानी सौराहा क्षेत्रका बस्ती जोखिममा परेका छन् । सौराहा क्षेत्र डुबानमा परेको छ ।
नारायणी नदीमा पानीको बहाब ६ मिटर पुगेको छ । ८ मिटर पुगे खतरा हुने लुईटेलले जानकारी दिनुभयो । खहरे खोलामा आएको बाढीका कारण पदमपुरमा पशुचौपाया बगाएको छ । ६ घर डुबानमा परेका कारण स्थानीय विस्तापित भएका छन् ।
मेघौलीमा २० घर डुबानमा परेको छ । माडीमा बाढीका कारण करिब ३ सय घर डुबानमा परेको प्रहरीले जानकारी दिएको छ । २ सय घरमा बस्न नमिलेपछी स्थानीय नजिकको प्रतिक्षालय, विद्यालय जस्ता सुरक्षीत स्थलमा पुगेका छन् ।
तपाईंको बिचार