तीन दिनदेखि निरन्तर भइरहेको वर्षाले सर्लाहीको जनजीवन कष्टकर बनेको छ । जिल्ला सदरमुकाम मलंगवा सहित खैर्बा, सिसौट, छटौल, महिनाथपुर, मानपुर लगायत दक्षिणी भेगमा दर्जनौ घर डुबानमा परेका छन् ।
वर्षाको पानीले घर भत्किएर किच्दा धनकौल गाउँपालिका–१ मानपुरका ७५ वर्षीय वृद्ध किशोरी रायको मृत्यु भएको प्रहरीले जनाएको छ । खरले छाएको कच्ची घर भत्किएर किच्दा भित्र सुतिरहेका रायको घटना स्थलमै मृत्यु भएको हो ।
त्यस्तै सोती खोलाले बगाएर बरहथवा नगरपालिका– १० सीतापुरमा १७ वर्षीय राकेशकुमार शाहको ज्यान गएको छ । डुबान प्रभावित क्षेत्रमा आवश्यक उद्धार सामाग्री सहित सुरक्षाकर्मी परिचालन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिनुभयो । वर्षाको पानीले घर डुबानमा परेपछि विस्थापित भएका खैर्बा र सिसौटका बासिन्दालाई अति आवश्यक राहत सामाग्री लाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी कँडेलले बताउनुभयो ।
निरन्तरको वर्षाले सर्लाहीको बागमती, लखन्देही, कालिन्जोर, फूलजोर, बाँके, झिम, मनुषमारा जस्ता खोलामा पानीको बहाव उच्च भएको छ । लखन्देही खोलाले धार परिवर्तन गरि गाउँतर्फ मोडिएपछि पिपरियामा उच्च सतर्कता अपनाइएको छ ।
वर्षाका कारण डुबान र कटान भइरहेको बारे जिल्लाका विभिन्न क्षेत्रबाट सूचना आउने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी कँडेलले जानकारी दिनुभयो ।
तपाईंको बिचार