बंगलादेशको बरगुना जिल्लामा रहेको एक माध्यमिक विद्यालयमा विद्यार्थीहरु कोही पढी रहेका छन्, कोही खेलिरहेका छन् । स्कूलकै एउटा छेउमा रहेको स्तनपान कक्षमा शिक्षिका फातिमा काकुली बच्चालाई दुध चुसाइ रहनु भएको छ ।
“मैले आफनो बच्चालाई ६ महिना घरमै स्तनपान गराएर अहिले बच्चालाई स्कुलमै ल्याउने गरेको छु, काकुलीले भन्नुभयो, मेरो घण्टी खाली भएको समयमा र बच्चा भोकाएको समयमा स्कुलमा रहेको स्तनपान कक्षमा गएर दुध खुवाउदै आइरहेकी छु ।” उहाँलाई लाग्छ, यो सुविधा दिएर सरकारले महिला र बच्चाको राम्रो उपकार गरेको छ ।
बंगलादेश सरकार कामकाजी महिलालाई पुर्ण स्तनपान गराउनकै लागि ६ महिना तलबसहित बिदा दिन्छ । त्यसपछि काममा जाँदा पनि सहज होस् भनेर कार्यालय, स्कूल, प्रहरी चौकी हरेक ठाउँमा स्तनपान कक्ष बनाइएको छ । बच्चालाई रेखदेख गर्ने व्यवस्था पनि भएकाले हरेक महिला बच्चा बोकेरै कार्यलय जान सक्छन् ।
६ महिनासम्म आफ्नो बच्चालाई पुर्ण रेखदेखसहित स्तनपान गराउन पाउँदा हरेक महिलालाई सहज भएको जिल्ला प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी सानु नहारको भनाई छ । नहार भन्नुहुन्छ, “सरकारले शिशुलाई स्तनपान देखि लिएर बच्चाको हेरचाह कै लागि बिदाको व्यवस्था गरेको हो । यो व्यवस्थाले हामी कामकाजी महिलाहरु सन्तुस्ट छौं र काम गर्न पनि सहज छ ।”
नेपालमा श्रम नियमावली अनुसार ९० दिन तथा अन्तर्राष्ट्रिय श्रम संगठन अनुसार १ सय ३ दिन सुत्केरी महिलालाई बिदा दिनुपर्छ । तर सरकारले जम्मा दुई महिना बिदा दिने गरेको छ । निजी क्षेत्रमा त्यो पनि मुस्किलले पाइन्छ । बंगलादेशमा २०१० सालबाट बच्चाको स्वास्थ्यलाई मध्यनजर गर्दै पुर्ण स्तनपानकै लागि भनेर पारिश्रमीक सहित ६ महिना बिदा दिने नियम बनाएको हो ।
ग्रामीण क्षेत्रमा २४ महिनासम्म स्तनपान भत्ताको व्यवस्था पनि गरेको बंगलादेश परिवार परिकल्पना मन्त्रालयका आमा तथा शिशु स्याहार विभाग निर्देशक डाक्टर मोहम्मद सरिफले बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “माननीय प्रधानमन्त्री शेष हसीना सरकार प्रधान मातृकालीन सुविधा पहिले १ महिना डेढ महिना र ३ महिना थियो भने अहिले ६ महिना मातृकालिन बिदा र सबै कार्यालयमा स्तनपान कक्षको व्यवस्था गरिएको छ ।”
६ महिने बिदा, गर्भअवस्था र प्रसुति कालिन अवस्थामा गरी बिदा लिने सुविधा छ । सँगै ६ महिनासम्म बच्चालाई स्तनपान नगराए कारवाही समेत गर्नसक्ने गरि अनुगमनको पनि व्यवस्था गरेको बरगुना जिल्लाका अतिरिक्त जिल्ला प्रशासक मोहम्द नुरु जामानले जानकारी दिनुभयो । सरकारी तथा गैरसरकारी कामकाजी महिला वा अन्य क्षेत्रमा काम गरिरहेका महिलालाई दिइएको सुविधा ६ महिना बिदा र स्तनपान कक्षको अनुगनम गर्ने र यदि कुनै आमा वा सरकारी संघसंस्थाले यो सुविधा नदिएको भए कारवाही गर्ने जामानले बताउनुभयो ।
बंगलादेशमा निजी र गैरसरकारी संस्थाहरुले पनि सरकारको यो नीति पालना गर्दै आइरहेका छन् ।
सरकारी नीति अनुसार नेपालमा बच्चा जन्मेको २ महिना आमाहरुलाई बिदा दिने गरिन्छ । पुरुषले स्याहारका लागि १५ दिन बिदा पाउँछन् । अहिले बच्चा जन्मेपछि बच्चाको स्याहार गर्ने मुख्य समय ६ महिना बिदा दिने की नदिने भन्ने विषयमा संसदमा बहस सुरु भएको छ । तर बंगलादेश मा भने ६ महिना बिदा दिने सरकारी नीतिगत व्यवस्था नै छ ।
तपाईंको बिचार